माग पूरा नभए पूनःहतियार उठाउने चेतावनी

Sharing is caring!

भदौ १७, २०७५ ।  बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति–२०६८ ले आफ्नो संगठनले उठाएका जायज मागहरु सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल पूरा नगरे आफूहरु आफ्नो सिपको सदुपयोग शशक्त र शसस्त्र आन्दोलनबाट गर्न तयार रहेको चेतावनी दिएको छ ।
आईतबार संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । स्वेच्छिक अवकाश लिएका पूर्व जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने अथवा सो आर्थिक प्याकेज बराबर दिर्घकालिन व्यवस्थापन हुनेगरि कुनैपनि क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने समितिको माग रहेको छ ।
बहिर्गमित जनमुक्ति सेनालाई लगाएको कथित अयोग्य विल्ला तुरुन्तै खारेजको साथै औपचारिक कार्यक्रम गरि सम्मानयुक्त शब्दसहित राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गरिनुपर्ने पनि समितिले माग तेर्साएको छ ।
आफूहरुको संगठनको नाममा डलरको खेती गर्ने जोकोहीलाई कालोमोसो दलेर सामाजिक बहिष्कार गर्ने पनि समितिले चेतावनी दिएको छ ।
समितिले बृहत शान्ति सम्झौताको मर्मविपरित मानव अधिकारवादीहरुले आफूहरुको नाममा डलरको खेती गरेको भन्दै जनकारबाही गर्ने चेतावनी पनि दिएको छ ।
केन्द्रीय संघर्ष समितिका अध्यक्ष असिम लिम्वु ‘सुनिल’ले बहिर्गमित सेनाको नाममा मानवअधिकारकर्मी र केही अधिवक्ताहरुले डलरको खेती गरिरहेको आरोप लगाएका छन् ।
उनले भने,‘केही दिन अघि अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काईएका बहिर्गमित जनमुक्ति सेना नेपालका पूर्व अध्यक्ष लेनिन बिष्टलाई केही मानवअधिकारवादीहरुले बोकिरहनुभएको छ, त्यस्ता मानवअधिकारवादीलाई खोजीखोजी टाउकोमा हान्ने समय आएको छ, एकजना पूर्वमाओवादी लडाकुलाई उचाल्ने काम गरिरहनुभएको छ, हामी ४ हजार ८ जनाको अधिकारको लागि नबोल्ने तर एकजना मानिसलाई निरन्तर बोक्ने ? शान्ति सम्झौताको हितविपरित उचाल्ने काम हुँदैछ, यो रोकिनुपर्छ।’
उनले भने,‘यस्ता गलत क्रियाकलापहरु नरोकिने हो भने नेकपाका नेताहरुलाई अन्तर्राष्ट्रिय जगतमासमेत बद्नाम बनाउने काम हुने निश्चत छ ।’
त्यस्तै कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बसेल ‘करन’ले प्रेस विज्ञप्ती वाचन गर्दै स्वेच्छिक अवकाश लिएका पूर्व जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने, लगानीको वातावरण सिर्जना गर्नुपर्ने, अयोग्यताको बिल्ला तुरुन्तै खारेज गर्नुपर्ने, सम्माजनक प्रमाणपत्र प्रदान गर्नुपर्ने, स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता कुराहरुमा प्राथमिकता दिनुपर्ने, शान्तिपूर्ण आन्दोलनका क्रममा राज्यद्धारा विभिन्न बहानामा पक्राउ परेका सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाहरुको विना सर्त रिहाई गरिनुपर्ने लगायतका मागहरु पूरा नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
त्यस्तै कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका अर्का उपाध्यक्ष योग्यबहादुर कार्कीले लेनिन बिष्ट २०६३ पछि संरक्षणको नाममा आएको सदस्यमात्रै भएको भन्दै उनले जनयुद्धमा बालबालिका प्रयोग भएको भनेर उठाएको विषय गलत भएको दाबी गरे ।
उनले भने,‘जवरजस्त उनलाई बन्दुक बोकाएको होईन, उनी शान्ति प्रक्रियामा आईसकेपछिको समयमा उनी आएका हुन, जनयुद्धमा कसैलाईपनि जबरजस्ती बन्दुक बोकाईएको थिएन, विमानस्थलबाट फकार्ईएको विषयलाई लिएर मानव अधिकारकर्मीहरुले लेनिन बिष्टलाई उचालिरहेका छन्, शान्ति प्रक्रियालाई पूर्णता दिनेतर्फ लाग्नुको साटो उल्टै भड्काउने काममा उहाँहरु लाग्नुभएको छ, बहिर्गमित सेनाको नाममा डलरको खेती गर्नेहरुलाई हामीले खोजीखोजी बहिष्कार गरिसकेका छौं ।’
उनले अघि थपे,‘लेनिन विष्ट शान्ति मन्त्रालयबाट १५ लाख रुपैयाँ लिएर ४ लाख ६० हजार हिनाबिना गरेको मान्छे हुन, नाकाबन्दीको बेला थानकोट डिपोबाट कालोबजारी गरेका व्यक्ति हुन, संस्थाको नामका कागजात किर्ते तथा दुरुपयोग गरेकोजस्ता कारण २०७३ चैत ३० गते साधारण सदस्यमात्रै रहनेगरि विष्टलाई विषेश राष्ट्रिय भेलाले हटाएको हो ।’
शान्ति प्रक्रियामा आएपछिका १० वर्षहरु निक्कै कष्टकर रहेको सुनाउँदै बहिर्गमित जनमुक्ति सेना नेपालका प्रवक्ता भीमबहादुर तामाङले आफ्ना मागहरु पूरा गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा बहिर्गमित जनमुक्ति सेना नेपालका सल्लाहकार संयोजक लालचन्द्र बि.क., उपाध्यक्ष केबी रम्तेल, महासचिव राजन थापा, उपमहासचिव कोपिला राई, कोषाध्यक्ष मोतिसरा खड्काले आ–आफ्ना कुराहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *