शक्तिमा फर्किए नेता सिटौला

Sharing is caring!

माघ १२, २०८० । राष्ट्रिय सभा सदस्यमा विजयी भएसँगै कांग्रेसका कृष्णप्रसाद सिटौला नेपाली राजनीतिको शक्तिमा फर्किएका छन् । राष्ट्रिय सभा अध्यक्षको रुपमा हेरिएका सिटौलाले बिहीबार भएको निर्वाचनमा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरे ।

प्रतिनिधि सभा चुनावमा दुई पटक हारेपछि संसदीय भूमिकाबाट टाढिएका कांग्रेस नेता सिटौला बिहीबार भएको राष्ट्रिय सभा चुनावमार्फत पुनः संसदीय भूमिकामा फर्केका छन् ।

गिरिजाप्रसाद कोइरालाको सक्रिय राजनीतिक जीवनको पछिल्लो दशकमा उनका विश्वासपात्र रहेका सिटौला लामो समय सत्ता राजनीतिको केन्द्रमा रहे । तर २०७४ र २०७९ को प्रतिनिधि सभा चुनावमा झापामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारेपछि किनारामा धकेलिएका थिए ।

कुनैबेला आफूलाई सत्ता राजनीतिको माहिर खेलाडी सावित गरिसकेका सिटौलाको आगामी भूमिकाले पार्टीको आन्तरिक जीवनमा प्रभाव पार्ने कांग्रेस नेताहरू बताउँछन् ।

सिटौलाले उम्मेदवारी दर्ता गरेकै दिन विराटनगरमा नेता शेखर कोइराला र महामन्त्री विश्व प्रकाश शर्माले भनेका थिए, ‘उहाँको योगदान र समन्वयकारी छविकै कारण राष्ट्रिय सभाको नेतृत्व गर्न कांग्रेसले उहाँलाई अघि बढाएको हो ।’

यसअघि संसदीय अवसर नपाएकालाई प्राथमिकता दिने निर्णय केन्द्रीय समितिले गर्दा पनि शेखर–गगन समूहदेखि महामन्त्री शर्मा सबैले सिटौलालाई उम्मेदवार बनाउने सवालमा विरोध गरेनन् । संस्थापन इतरका यी तीनै जना नेता बरू सिटौलाको चुनावी अभियानमा सक्रिय रूपमा सामेल रहे ।

झापा–३ मा पछिल्ला दुई निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देनबाट पराजय व्यहोरेका सिटौला सत्ता गठबन्धनको अनुकूल गणितका कारण राष्ट्रिय सभातिर लम्किएका थिए । २०४८ यता संसदका हरेक निर्वाचन लड्दै आएका उनी २०७० सम्मको निर्वाचनमा एउटा निर्वाचनमा जित र अर्कोमा हार सहँदै आएका नेता हुन् । २०७४ यता भने उनको राजनीतिक उपलब्धिको खाताबाट जित गायब थियो । राष्ट्रिय सभा निर्वाचनले उनको त्यो हार यात्रामा ब्रेक लगाइदिएको छ ।

माओवादीका नेताहरुका अनुसार कांग्रेसबाट निर्वाचित कृष्ण सिटौला सरकारमा जान पनि सक्छन् । यो अवस्थामा नहुँदा माओवादी अध्यक्ष नलिन लचक हुनेबारे शीर्ष तहमा छलफल चलेको आफूले सुनेको बताउँछन् राष्ट्रिय सभामा माओवादीका सचेतक गोपी अछामी ।

‘माओवादी संवैधानिक परिषदमा शून्य हुने अवस्था आउन सक्ने अवस्था बन्न सक्छ । त्यसका लागि तयार हुनुपर्ने पक्ष एउटा छ । तथापि, सिटौलाको हकमा लचक हुने भन्ने भएको सुनिएको छ, सचेतक अछामीले भने ।

सत्ता गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको नेताहरु बताउँछन् । त्यस अनुसार प्रचण्डले प्रधानमन्त्री छाड्दा संवैधानिक परिषदमा आफ्नो दलको उपस्थिति नरहने चिन्ता माओवादी नेताहरुमा छ ।

संवैधानिक निकायका पदाधिकारीहरु नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय परिषदमा राजनीतिक पृष्ठभूमिका सदस्यहरूमा प्रमुख विपक्षी दलको नेता, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपसभामुख रहने संवैधानिक व्यवस्था छ ।

हाल कांग्रेसको परिषदमा नरहेको र भविष्यमा माओवादीको नरहन सक्ने अवस्था समान भएको तर्क कांग्रेस नेताहरुको छ । उनीहरु कृष्ण सिटौला अध्यक्ष हुने गरी नै राष्ट्रिय सभामा आएको बताउँछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सिटौलाको पक्षमा सकारात्मक भएकाले थप समस्या नहुने राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलकी सचेतक अनिता देवकोटाको बुझाइ छ । उनी भन्छिन्, ‘राष्ट्रिय सभाको अध्यक्षमा सिटौला दाइको नाम गठबन्धनभित्र टुंगो लागेको भन्ने मेरो बुझाइ छ ।’ यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *