शिक्षा सुधारका विषयमा मन्त्रालय र स्थानीय तहबीच समन्वयात्मक छलफल सम्पन्न

hitkhabar.com


काठमाडौं । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना, संस्थागत विद्यालयहरूको शुल्क निर्धारण तथा अनुगमन लगायतका शैक्षिक सुधारका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा स्थानीय सरकारका प्रतिनिधिहरूसँग आज सौहार्दपूर्ण तथा समन्वयात्मक छलफल सम्पन्न भएको छ।

छलफलमा नगरपालिका महासंघ र गाउँपालिका महासंघका पदाधिकारीहरू तथा काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुखहरूको सहभागिता रहेको थियो। सहभागीहरूको सुझाव र सहकार्यप्रति मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ।

त्यसैगरी गृह मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको छलफलमा शैक्षिक क्षेत्र सुधारलाई प्रभावकारी बनाउन संविधानले तोकेको जिम्मेवारीअनुसार सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्ने साझा निष्कर्ष निकालिएको छ।

छलफलमा विद्यालय शुल्क निर्धारण तथा अनुगमन, छात्रवृत्ति वितरणमा पारदर्शिता सुनिश्चित गर्ने विषयमा स्थानीय सरकारले अग्रसर भूमिका खेल्ने र मन्त्रालयले आवश्यक समन्वय तथा सहयोग गर्ने सहमति भएको छ।

आगामी दिनमा प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयहरू तथा अन्य सरोकारवाला निकायहरूसँग पनि निरन्तर समन्वय र सहकार्य अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया