देशभर बदलीसँगै वर्षा र हावाहुरीको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

hitkhabar.com


काठमाडौं । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। साथै, नेपालको दक्षिणतर्फ पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको असर पनि कायम रहेको छ।

मौसम पूर्वानुमान महाशाखा का अनुसार आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा बाँकी तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी तथा असिनासहित मध्यम वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

मौसमविद्हरूले खराब मौसमका कारण हुन सक्ने बाढी, पहिरो, चट्याङ्ग तथा हावाहुरीजन्य जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया