काठमाडौं । नबिल बैंक र सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन गरिएको निःशुल्क जलन उपचार शिविरबाट ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन्।
वैशाख २५ देखि २८ गतेसम्म सञ्चालन गरिएको शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ। तीमध्ये जटिल अवस्थाका १२ जना बिरामीलाई थप उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ।
नबिल बैंक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको शिविरमा जलनसम्बन्धी विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए। दुर्गम क्षेत्रका जलन पीडितलाई सहज रूपमा उपचार उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ।
जलनका बिरामीलाई तत्काल र विशेष उपचार आवश्यक पर्ने भए पनि धेरै जिल्लामा विशेषज्ञ सेवा उपलब्ध नहुँदा पीडितले समयमै उपचार पाउन कठिन हुने गरेको छ। यही अवस्थालाई ध्यानमा राख्दै नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा निःशुल्क जलन शिविर सञ्चालन गर्दै आएको जनाएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार हालसम्म चार वटा प्रदेशमा सञ्चालन गरिएका शिविरमार्फत करिब पाँच सय जना बिरामीले निःशुल्क उपचार तथा परामर्श सेवा लिइसकेका छन्।
यसअघि बैंकले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि यस्ता शिविर सञ्चालन गरेको थियो। मधेश प्रदेशमा आयोजित शिविरबाट १५० जना, सुदूरपश्चिमको धनगढीमा ६५ जना तथा कर्णालीको सुर्खेतमा सञ्चालन गरिएको शिविरबाट १९४ जनाले सेवा लिएका थिए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट सेवा उपलब्ध नभएको अवस्थामा शिविर निकै प्रभावकारी भएको बताए। उनले आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे।