प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेश विजयी

Sharing is caring!

माघ ६, २०८० । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । जवाफमा ४१.१ ओभरमा सवै विकेट गुमाएर कर्णालीले १७० रनमात्रै बनाउन सक्यो । पहिला ब्याटिङ गर्दा मधेश प्रदेशका लागि २ जना खेलाडीले अर्धशतक प्रहार गर्दा अरुको पनि प्रदर्शन मध्यम थियो । ओपनर तथा कप्तान हरिशंकर साहले ५० रन बनाउँदा मयन यादवले पनि ५० रनकै अर्धशतकीय पारि खेले । यसैगरी अनिल साहले ४४ रन बनाउँदा अभिषेक तिवारीले ३४ रन जोडेका थिए । यस्तै पवन शर्राफ, राजेश यादव र प्रदीप पासवानले समान ११–११ रन बनाए । यसैगरी राहुल मण्डलको ब्याटबाट १० रन बन्यो ।

बलिङतर्फ कर्णाली प्रदेशका लागि दीपेन्द्र रावतले ४ विकेट लिँदा अनुज चनाराले २ विकेट लिए । यसैगरी दिनेश अधिकारी, युनिस सिंह र रवीन्द्र शाहीले एक–एक विकेट लिए । २३२ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली प्रदेशको सुरुआत भने राम्रो रहेन । लगातार विकेट पतन हुँदा एक समय सहज अवस्थामा देखिए जित निकाल्न सकेन । कर्णालीका लागि अर्जुन घर्तीले ५८ रनको अर्धशतकीय पारि खेल्दा दिनेश अधिकारीले ३३ रन जोडे । यस्तै विपिन शाहीले ३१ रन बनाउँदा प्रकाश जैशीले १४ रनमात्रै जोडे ।

मधेश प्रदेशका लागि राजेश यादवले ३ विकेट लिँदा प्रदीप पासवानले २ विकेट हात पारे । यसैगरी रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर साह र पवन शर्राफले एक–एक विकेट लिए ।

५ खेलमा ३ जित निकालेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *