गौ हत्या विरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन
असोज १२, २०८० । जनकपुरमा विश्व हिन्दू परिषद्ले गौ हत्या विरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवको अध्यक्षतामा आज जानकी मन्दिरको प्राङ्गणबाट हजारौंको संख्यामा हिन्दूवादीहरुले विरोध जुलुस निकालेका हुन् ।

विगत केही दिनदेखि देशका विभिन्न ठाउँमा गौ हत्या भइ रहँदा पनि सरकार मूक दर्शक भएर बसेको भन्दै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले बताए ।

गाई नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रुपमा परापूर्वकाल देखि नै मान्दै आएका कारण केही अतिबादीहरुले हिन्दू सनातनधर्ममाथि प्रहार स्वरुप गौ हत्या गर्ने गरेको उनको आरोप छ ।
सामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु सनातनीहरुको लागि दुःखद रहेको उनले बताए ।
