राष्ट्रिय खुला तेक्वान्दो वैशाख २ गतेदेखि

Sharing is caring!

चैत ११, २०८० । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता आगामी वैशाख २ गतेदेखि हुने भएको छ ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा हुन लागेको प्रतियोगितामा ६ सय जनाभन्दा बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले बताएका छन् ।

क्योरोगी र पुम्सेमा गरी जम्मा ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीको सिनियर पुरुष-महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ । क्योरोगीकै जुनियर पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा भिडन्त हुनेछ । पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्ने छन् ।

प्रतियोगिता दक्षिण कोरियाको सिओलमा अगस्ट २३ र २४ मा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) का लागि खेलाडी छनोटको आधार समेत रहेको छ । समान ३–३ पुरुष-महिला गरी जम्मा ६ खेलाडी दक्षिण कोरियामा हुने प्रतियोगिताका लागि छनोट हुने छन् ।

व्यक्तिगत पुम्सेबाट १–१ पुरुष-महिला खेलाडी छानिने छन् । सिनियरको स्पर्धाबाट समान २–२ पुरुष-महिला गरी ४ खेलाडीले दक्षिण कोरियाको टिकट पक्का गर्ने छन् । सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइने छ । त्यो प्रतिस्पर्धामा समान २–२ पुरुष-महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।

छनोट हुने ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार पाउने छन् । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । ६ वटा एरिना तयार गरी खेल खेलाइने मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न ५० निर्णायक परिचालन गरिने बताइएको छ ।

राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी रेफ्री रिफ्रेसर कोर्स पनि शनिबार सम्पन्न भएको छ । पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको रेफ्री रिफ्रेसर कोर्स अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *