राष्ट्रियसभाका लागि सत्ता गठबन्धनबिच सिट बाँडफाँट टुंगियो

Sharing is caring!

पुस २२, २०८० । सत्ता साझेदर दलहरुले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १९ सिट सिट बाँडफाँट टुंगो लगाएका छन् । तर, क्लष्टरका विषयमा छलफल गर्न चारवटै दलले आन्तरिक छलफल मार्फत टुंगो लगाउने समझदारी भएको कांग्रेस,प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार दलको बैठकले सिटको टुंगो लगाएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमति भएको लेखकले बताए । क्लष्टरका विषयमा छलफल गर्न चारवटै दलले आन्तरिक छलफल गरेर टुंगो लगाउने उनले जानकारी दिए ।

शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो । तर, एकीकृत समाजवादीले तीन सिटमा दाबी अडान नछोडेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको थियो ।
बैठकपछि नेता लेखकले सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरुले संयुक्त रुपले उम्मेदवारी दिने बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी थिए ।

बैठकले सकेसम्म एकीकृत समाजवादीलाई मनाउने र सहमतिको प्रयास गर्ने नेताहरूले जनाएका छन् । ‘सकेसम्म एकीकृत समाजवादीलाई मनाएर अघि बढ्ने प्रयास हुन्छ । नभए माओवादी केन्द्रले एक सिट छोड्नु पर्ने हुनसक्छ,’ बैठकमा सहभागी एक नेताले भने ।

तर, एकीकृत समाजवादीले भने असन्तुष्टि जनाएको छ । एकीकृत समाजवादीका प्रवक्ता एवम प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले तीन सिटको दाबी कायम रहेको बताए । सो बारे आन्तरिक छलफल गर्न एसको सचिवालय बैठक पार्टी कार्यालयमा जारी छ ।

यता, सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्यमा पनि दलहरुले करिव सहमति गरेको बताइएको छ । यो सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको स्रोतले जानकारी दियो ।

राष्ट्रिय सभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ भने त्यसका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *