बरहथवा घटनामा मृत्यु भएका जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

Sharing is caring!

पुस २२, २०८० । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैयाको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान राखेका थिए ।

त्यहीकारण वार्ता निष्कर्षमा पुग्न सकेन । घटनाका विषयमा गृह मन्त्रालयले पनि छानविन समिति गठन गरेको छ भने पीडित परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तर पीडित परिवार र प्रदर्शनकारीहरूले भने अस्पताल हस्तान्तरणकै विषयमा अडान लिएका छन् ।

आइतबार विहानै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शव उठाउने विषयमा छलफल गर्न बैठक राखेका छन् । अहिले जिल्ला प्रशाशन कार्यालयमा छलफल भइरहेको छ ।

जिल्ला प्रशासनले शनिबार निषेधाज्ञा जारी गरेको अवस्थामा समेत प्रदर्शनकारीहरूले शवसहित प्रदर्शन गरेका थिए । बरहथवाका मेयर कल्पनाकुमारी कटुवालले ९ असोजमा अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन नगरेको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । त्यही विवादमा शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *