विराटनगरका निश्चित क्षेत्रमा प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

Sharing is caring!

भदौ ३१, २०८० । कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर मोरङ प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने जनाउँदै निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा आइतबार जारी सूचनामा विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु बनाएर विविध समूहबाट विरोध, धर्ना, जुलुस आयोजना गरिएको जनाउँदै असोज १ गते बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।

प्रदेशसभा पूर्व देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर एवं जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वलाई निषेधित क्षेत्र तोकिएको छ ।

निषेधित क्षेत्रमा कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना गर्न निषेध गरिएको हो । निषेधाज्ञा उल्लंघन गरिए कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रदेशको नामकरण ‘कोशी’ गरिएसँगै पहिचानवादी संगठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । ‘प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समिति’ ले असोज २ गते विराटनगरमा वृहत मोटरसाइकल र्याली आयोजना गर्ने जनाउँदै आएको छ ।

प्रदेश नामकरणको विरोधमा रहेका संगठनहरुले विगतमा पनि विरोध प्रदर्शन गर्दै आएका थिए । केही समय स्थगित आन्दोलन फेरि अघि बढाउने ती संगठनले जनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *