चिकित्सा शिक्षा सरोकार समितिले तोड्यो अनशन, ३८ दिनदेखिको आन्दोलन स्थगित

Sharing is caring!

असोज १, २०८० । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले माग पुरा गर्ने आश्वासन दिएपछि चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालको लागि फिर्ता लिएको छ । विगत ३८ औं दिनदेखि १४ सूत्रीय माग राखेर २५ वटा संस्थागत समर्थनमा आन्दोलन गरिरहेको संघर्ष समितिले स्वास्थ्यमन्त्रीको आग्रहमा आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता लिएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले आँफै गएर माइतीघरमा अनशनरत आन्दोलनकारीलाई अनशन तोडाएका छन् । अनशन तोड्ने क्रममा मन्त्री बस्नेतले चिकित्सा क्षेत्रको समस्या समाधानको लागि शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै पनि सक्रिय भएको भन्दै समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गरे ।

‘यो समस्या समाधान गर्ने विषयमा सरकार लागि नै सकेको अवस्था भएको हुनाले यो कारबाहीको अवस्थामा नै अगाडि बढिसकेको छ त्यसकारणले तपाईहरु अब धर्ना नै बस्न नपर्ने गरी समस्या समाधान हुन्छ ।’ उनले भने ‘जति गर्न पर्ने हो, के के कारणले कमि कमजोरी देखिएको हो त्यसलाई सुधार गर्न र समग्र रुपमा नेपालमा डक्टर र नर्सहरुको उत्पादन बढाउनका लागि स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै यसमा सक्रिय भएको हुनाले यो समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गर्दछु ।’

उनले यस क्षेत्रमा भएका राम्रा कुरालाई आत्मसाथ गर्ने र कमि भएको कुराहरुलाई सुधार गर्दै जानुपर्ने भन्दै यस्तो नगरे पाँच वर्षपछि देशमा डक्टर र नर्सहरु पाउँन गाह्रो हुने बताए । उनले प्रधानमन्त्रीले अमेरिकादेखि चीनसम्म आफ्नो कुरा राख्नुपर्ने समयमा यसरी धर्ना गर्नु राम्रो नभएको भन्दै प्रधानमन्त्री फर्किएपछि स्वास्थ्य समस्या समाधान गर्ने हिसाबले अगाडि बढ्ने बताए ।

‘मन्त्रिपरिषद्को बैठकमा चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपालमा स्वास्थ्यकर्मीहरु मुलुकलाई चाहिने जति यही उत्पादन गर्ने, सकिन्छ भने दक्ष जनशक्ति बाहिर पठाउन सकिन्छ भने त्यो पनि राष्ट्रको लागि राम्रै हो । प्रधानमन्त्रीले यो कुरा गम्भीर छ, यसबारेमा शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै बसेर छलफल गरौं भनेर भन्नु भयो जसअनुसार हामीले २ दिनसम्म छलफल गरेका थियौं । यो संशोधन गरेर जाने हिसाबले नै प्रधानमन्त्रीको निर्देशन भईसकेको छ ।’ उनले भने । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिका संयोजक निर्मल सापकोटाले स्वास्थ्य मन्त्रालयसंगको छलफलपछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिए ।

उनले भने ‘तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । अहिले हामी कार्य समितिको बैठकमा छौँ अपौचारिक जानकारी केहीबेरमा गराउने छौं ’ चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सीटीईभीटीको पुर्नसंरचना गर्नुपर्ने, स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने लगायतका १४ वटा माग राखेर समिति आन्दोलनमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *