नेतामुखी विकास रोकेर प्रदेशमुखी बनौं : मुख्यमन्त्री कार्की

Sharing is caring!

पुस २३, २०८० । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेतामुखी विकास रोक्न र प्रदेशमुखी विकासका लागि योजना बनाउन निर्देशन दिएका छन् ।

संघीय सरकारमा समपूरक र विशेष अनुदानका लागि कोशी प्रदेशले कस्ता योजना प्रस्ताव गर्ने भन्ने विषयमा गरिएको छलफलमा बोल्दै सोमबार मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन् ।

उनले नेतामुखी विकासले निरास भएका युवा तथा समग्र प्रदेशवासीमा आशा जगाउने योजना ल्याउन निर्देशन दिए ।

‘उद्योग मन्त्रालयमा उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि आएको बजेट जिल्लामा छरेर उद्यम विकास हुन्छ ?’ उनले भने, ‘निरिहता नदेखाऔं, सिर्जनात्मक बनौं । युवाहरूमा आशा जगाउन सिर्जनात्मक बन्ने कि नबन्ने ? यो प्रदेशवासीको प्रश्न हो ।’

मुख्यमन्त्री कार्कीले योजना नै छान्ने हो भने योजना आयोगबाट छान्ने कि नछान्ने, कि नेताको खल्तीबाट निकालेको योजनामा रमाएर बस्ने भन्दै मन्त्रालयका सचिवहरूलाई प्रश्न गरेका थिए ।

अहिले योजना बैंक निर्माण गर्न लागि परेको र अब योजना बैंकको योजनामा मात्रै प्राथमिकता क्रममा बजेट विनियोजन हुने उनको भनाइ थियो ।

‘प्रदेशवासी उद्योगी र धनी भएपछि मात्रै प्रदेश आत्मनिर्भर हुन्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘त्यसैले उद्योगीलाई आकर्षित गर्ने र प्रविधि हस्तान्तरण गर्ने बजेटलाई उपयोग गरौं ।’

‘सिर्जनात्मक बनौं, खानेपानीमा नयाँ योजना ल्याऔं र १० यूनिटसम्म खानेपानी निःशुल्क दिएर ११ यूनिटबाट १ बाट गणना गरेर महसुल लिऔं,’ उनले भने, ‘प्रदेशवासीलाई निःशुल्क खानेपानी खुवाउन कुनै समस्या छ ? १० यूनिटभन्दा बढी पानी खपत गर्नेले तिरेको पैसाले पुग्दैन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *