छठ पर्वको मुख्य दिन आज ‘सँझिया अर्घ’

Sharing is caring!

मंसिर ३, २०८० । आज छठ पर्व अन्तर्गतको मुख्य दिन (सँझिया अर्घ) हो । यो पर्वको अवसरमा बिहानैदेखि जनकपुरका नदी, तलाउ र पोखरीहरुमा श्रद्धालुहरुको भिड छ ।

आज बिहानदेखि ब्रत बसेका ब्रतालुले साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सँझिया घाट’ र ‘सझुका अरख’ भन्ने चलन छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा छ । विशेषगरी अहिले जनकपुरको गंगा सागर झकिझकाउ पारिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य र ब्रह्माका मानसपुत्री छठी (षष्ठी) को उपासना र पूजा गरी मनाइन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई ब्रतालुले प्रसाद स्वरुप खाने र नुन नखाई एक छाक फलाहार गर्दछन् । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठी अर्थात् आज निराहार ब्रत बसी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि छ ।

आज रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने विश्वास पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *