हामीसँग सुशासनको एजेन्डा मात्रै छ : रवि लामिछाने

Sharing is caring!

मंसिर ३०, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरुले मदन भण्डारी र वीपी कोइरालाको विचारलाई बेचिरहेको आरोप लगाएका छन् । पार्टीले शनिबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले भजाएर खान आफूहरूसँग कसैका विचारको भारी नभइ सुशासनका एजेन्डामात्र भएको बताए ।

उनले भने, ‘हामीसँग ठेकेदारहरुको र कार्यकर्ताको लिस्ट छैन । बेच्नका लागि हामीसँग मदन वीपी कोही छैनन् । हामीसँग सुशासनको एउटा एजेन्डा छ । हृदय छ केही गरेर देखाउने र क्षमतावान योग्यता भएका व्यक्तित्वहरू हाम्रो पार्टीमा छन् बस् । यत्तिकै आधारमा हामी अगाडि बढेका हौं ।’

जाजरकोटलाई केन्द्रविन्दु बनाइ हालै आएको भूकम्पलगत्तै लामिछाने त्यसतर्फ हतार हतार पुगेका थिए । उनले आफू गएको देखेर सत्ताधारी दलका नेताहरु राज्यलाई खर्चको भार बोकाएर देखाउनका लागि जाजरकोट गएको टिप्पणी गरे । भूकम्पस्थलमा कम्युनिष्टहरु रास्वपासँग प्रतिष्पर्धाका लागि हेलिकोप्टर प्रदर्शन गर्न मात्र पुगेको उनको आरोप थियो । आफूहरुसँग प्रतिस्पर्धा गर्न होइन जनताको घाउमा मलम लगाउन जान उनले आग्रह गरे ।

आज देशको दुर्गम ठाउँमा भूकम्प जान्छ । हामी सबैभन्दा पहिला पुग्छौं भनेर अब यिनीहरु पुग्लान भनेर एकाबिहानै झिसमिसेमा आँखा मिच्दै हेलिकोप्टर चढेर पुग्छन् । डर छ पहिला यो पुग्यो भने बर्बाद हुन्छ भनेर,’ उनले भने, ‘पुग्नुहोस् तर हेलिकोप्टर प्रदर्शन गर्न होइन, जनताको घाउमा मलम पट्टी लगाउन जानुहोस् । हेलिकोप्टरले कति पैसा खर्च भयो थाहा छैन । जाडोले मानिस मरे, हामीसँग प्रतिस्पर्धा गर्न देखाउन नजानुहोस् ।

सभापति लामिछानेले विश्वविद्यालयमा तालाबन्दी गरेर देशको भलो नहुने भन्दै भागबण्डामा पदहरु बाँडेको कारण देशमा लुटतन्त्रको धन्दा बढेको टिप्पणी गरे । एकपटक आफूलाई अवसर मिलेमा लुटको खेतीमा हिडेकाहरुलाई रोक्ने जिकिर उनले गरे ।

विश्वविद्यालयका भीसी पदको पार्टीमा योगदान दिने मानिसलाई बाँड्नेहरुले कहिले पनि देशको भलो गर्न सक्दैनन् । संघसस्थाहरु डुबेका छन् । तिनको हालत टाट पल्टिने छ । त्यो सब भागबण्डामा देशको पदहरु बाँडेको कारण हो,’ उनले भने, ‘एकपटक लुटलाई बन्द गर्ने अवसर हामीलाई दिनुहोस् । यो लुटको खेती धन्दा देशको सम्पत्ति आफ्ना भाइभान्जा सालाभतिजा जिन्दाबाद भन्दै हिडेकाहरुलाई रोक्ने अवसर खोजेको छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *