कोशी प्रदेशमा विश्वासको संकट, संसदमा संकल्प प्रस्ताव दर्ता हुँदै

Sharing is caring!

वैशाख ६, २०८१ । कोशी प्रदेशको मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि राजनीतिक दबाब बढाउँदै लगेका एमाले र माओवादी केन्द्रले आज (बिहीबार) संकल्प प्रस्ताव पेस गर्दै छन् । केन्द्र सरकारमा गठबन्धन गरेका एमाले र माओवादीले पुरानो गठबन्धनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि राजीनामा गराउन भनेर दबाब बढाईरहेका छन् ।

आज दिउँसो १ बजे प्रदेश सभाको बैठकमा उनीहरुले त्यही उदेश्यका लागि संकल्प प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । आज प्रस्तुत हुने प्रस्ताव भोलि शुक्रबार छलफलमा पेश गरिने भएको छ । संघको गठबन्धन फेरिएपछि कोशी लगायतका सबैजसो प्रदेशको समीकरणमा हलचल आईरहेको छ । मुख्य दलहरुले संघकै सहमति अनुसार प्रदेशहरुमा पनि सत्तामा भागबण्डा गर्न प्रयास गरिरहेका छन् ।

कोशीमा नेपाली कांग्रेस सरकारमा भएपनि प्राविधिक रुपमा बहुमतमा र राजनीतिक रुपमा अल्पमतमा देखिन्छ । संकल्प प्रस्ताव दर्ता भएर छलफल सुरु भएपछि कांग्रेसले आफ्नो रणनीतिक चाल चल्नथाल्ने बुझिएको छ । प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्रालयको नेतृत्व गरिरहेका प्रवक्ता शमशेर राईले संसदको प्रक्रिया अगाडि बढेपछिको अवस्थालाई समीक्षा गरेर आवश्यक कदम चालिने बताए ।

एमालेले भने कोशीको राजनीतिलाई प्रतिष्ठाको प्रश्न बनाएको देखिन्छ । यसअघि एमालेकै नेताहरुले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर कांग्रेस र माओवादीको गठबन्धन बनेपछि एमाले सत्ताबाट हात धुन वाध्य भएको थियो । अहिले माओवादीसँग सरकारमा सहकार्य सुरु भएपछिको अवसर उपयोग गर्दै कोशीको सत्ता फेरि आफ्नै हातमा फर्काउन एमाले सक्रिय देखिएको छ ।

माओवादी भने विगतमा कांग्रेसले धोका दिँदा आफ्नो अवस्था खस्किएको ठान्दै यसपटका मुख्यमन्त्रीलाई सत्ताच्युत गराएर त्यसको बदला लिन एमालेसँग सहकार्य गरिरहेको देखिन्छ । यसपटक मुख्यमन्त्री कार्कीले आफूहरुलाई चुनौति दिँदै राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान लिएको निष्कर्षमा पुगेका एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गर्न लागेका हुन् ।

संकल्प प्रस्तावमा मुख्यमन्त्रीले यही वैशाख २५ भित्र राजीनामा दिएर विश्वासको मत लिनुपर्ने सर्त राख्दै अन्यथा मन्त्रिपरिषदका कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *