भारत आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा

Share this news:


असार ११, २०८१ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले सेमिफाइनलको यात्रा तय गरेको छ । सोमबार राति भएको सुपर ८ को तेस्रो खेलमा अस्ट्रेलिया विरुद्ध जित निकालेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको हो । टी–२० विश्वकपको तेस्रो सुपर ८ खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गर्न सफल भयो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा १८१ रन बनायो ।

अब भारतले टोलीले सेमिफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । टस जितेर पहिले ब्याटिङ गरेको भारतलाई दोस्रो ओभरमै पहिलो झट्का लागेको थियो । विराट कोहलीले खाता पनि खोल्न सकेनन् । कप्तान रोहित शर्माले एक छेउबाट आक्रामक शैलीमा दोस्रो विकेटका लागि ऋषभ पन्तसँग ३८ बलमा ८७ रनको साझेदारी गर्दै स्कोरलाई ९० भन्दा माथि पुर्याएका थिए ।

दोस्रो विकेटको रुपमा ऋषभ पन्त १४ बलमा १५ रन बनाएर आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरे । तेस्रो विकेटको रुपमा कप्तान शर्माले ९२ रन बनाएर आउट भए । उनले १९ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । रोहित शतक तर्फ लागे पनि १२ औं ओभरमा मिचेल स्टार्कको शिकार बने र ४१ बलमा ९२ रनको पारि खेले । उनको इनिङ्समा सात चौका र आठ छक्का सामेल थिए ।

यस्तै, सूर्य कुमार यादवले १६ बलमा ३१ रन बनाए । उनले २ छक्का र ३ चौका प्रहार गरे । १५औं ओभरमा १५९ रनको स्कोरमा उनको विकेट खसेको थियो । शिवम दुबे पनि २२ बलमा २८ रन बनाएर आउट भए । हार्दिक पाण्ड्याले १७ बलमा नटआउट २७ रन बनाए । योसँगै रविन्द्र जडेजाको ब्याटिङमा ९ रनको नटआउट पारि खेलेपछि भारतीय टोलीले २०० भन्दा बढी रन बनाउन सफल भयो । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोइनिसले २–२ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात पनि खराब रह्यो र डेभिड वार्नर पहिलो ओभरमा ६ रन बनाएर आउट भए । ट्राभिस हेड र मिचेल मार्सलेबीच ८१ रनको साझेदारी भयो । जसलाई कुलदीप यादवले तोडेका थिए र मार्स २८ बलमा ३७ रन बनाएर आउट भए । ग्लेन म्याक्सवेलले छिटो रन बनाउने प्रयास गरे तर १९ रन बनाएर पभेलियन फर्किए । मार्कस स्टोइनिसले मात्र २ रन बनाउन सके ।

तर, ट्राभिस हेडले भारतीय बलरमाथि हावी भएर खेलेका थिए । उनले २४ बलमा आफ्नो अर्धशतक पूरा गरे । १७ औं ओभरमा जसप्रित बुमराहको स्लो बलमा हेडलाई आउट गराए । हेडले ४३ बलमा ९ चौका र चार छक्का सहित ७६ रनको पारि खेले । टिम डेभिड पनि १५ रन बनाएर आउट भए । यस्तै, प्याट कमिन्स ११ र मिचेल स्टार्क (४) रन बनाएर अविजित रहे पनि टोलीलाई जित दिलाउन भने सकेनन् । भारतका लागि अर्शदीप सिंहले सर्वाधिक तीन तथा कुलदीप यादवले दुई विकेट लिए ।

सुपर ८ को समूह १ बाट भारतले ३ खेलमा ३ जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेपनि अस्ट्रेलिया स्तब्ध भएको छ । तर, अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजाले अस्ट्रेलियाको सेमिफाइनल सम्भावनालाई तय गर्ने छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *