देउवालाई बुझाइयो हिन्दुराष्ट्र मागसहितको प्रस्ताव

Sharing is caring!

फागुन १०, २०८० । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्रको पक्षमा चलाइएको अभियानको हस्ताक्षरसहितको प्रस्ताव सभापति शेर बहादुर देउवालाई बुझाइएको छ ।

अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन् । एक हजार ६३ जनाको हस्ताक्षरसहितको पुरक प्रस्ताव भन्डारीले देउवालाई बुझाएका हुन् ।

पूर्वमहामन्त्री एवं केन्द्रीयसदस्य डा.शशांक कोइराला, पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटलगायतका नेताहरुले हस्ताक्षर अभियानमा साथ दिएका थिए ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए । भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्र्तगत हस्ताक्षर संकलन गरिएको हो ।

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिएको भन्दै भण्डारीले आपत्ति पनि जनाएका थिए ।

गौतम बुद्ध जस्ता महान व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ ।

महासमिति वैठकको उदघाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले वैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान चलाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *