राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनलाई सहज, एमालेलाई सकस

Sharing is caring!

मंसिर २४, २०८० । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगसँगै राजनीतिक दलहरूले आ–आफ्नो तयारीलाई तीव्रता दिन थालेका छन् । फागुन २० मा राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ।

रिक्त राष्ट्रियसभा सांसदका लागि सत्तरुढ गठबन्धन र प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच प्रतिष्पर्धा हुने निश्चित छ।

यसको पूर्वतयारीस्वरूप सत्तारुढ गठबन्धन दलहरूबीच सांसद भागबण्डामा छलफल शुरू भएको छ भने दलहरूले आन्तरिक बैठक बसेर राष्ट्रियसभामा कसलाई पठाउने भन्ने छलफलसमेत शुरू गरिसकेका छन्।

राष्ट्रियसभा निर्वाचनमा ७५३ स्थानीय तहका १ हजार ५०३ र प्रदेशसभा सदस्यतर्फ ५४९ गरी २ हजार ५२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। यद्यपि, निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छैन्।

कुल ७५३ स्थानीय तहतर्फ १ हजार ५०६ मतदाता हुनुपर्नेमा नगरपालिकाका मेयर र गाउँपालिका अध्यक्ष गरी तीन पद रिक्त छन्।

यस्तै, प्रदेशसभा सदस्यतर्फ एक पद रिक्त छ। स्थानीय तहका मेयररअध्यक्ष र उपमेयररउपाध्यक्ष तथा प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनमा मतदाता हुने कानुनी व्यवस्था छ।

निर्वाचन आयोगले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयरको १९ तथा प्रदेशसभा सदस्यको ५३ मतभार निर्धारण गरिसकेको छ।

मुलुकभरका स्थानीय तहबाट हाल कायम रहेका १ हजार ५०३ मतदाताको मतभार २८ हजार ५५७ छ । त्यस्तै, ५४९ प्रदेशसभा सदस्यको मतभार २९ हजार ९७ छ । जसअनुसार राष्ट्रियसभा निर्वाचनको कुल मतभार ५७ हजार ६५४ रहेको छ।

उक्त मतभारअनुसार सातवटै प्रदेशमा वर्तमान सत्ता गठबन्धन अगाडि देखिन्छ। निर्वाचनसम्म गठबन्धनमा तलमाथि नभए प्रत्यक्ष निर्वाचित हुने राष्ट्रियसभाका १९ सांसदमा एमाले क्लिन स्विप हुने देखिएको छ।

राष्ट्रियसभा निर्वाचनमा कोशीप्रदेशमा सत्ता गठबन्धनको मतभार ५ हजार ४७४ पुग्नेछ भने सत्ताबाहिर रहेका दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको भने मतभार ४ हजार ६६१ मात्रै पुग्छ।

त्यस्तै मधेस प्रदेशमा पनि सत्ता गठबन्धन अगाडि छ । उनीहरूको मतभार ८ हजार २७२ छ भने सत्ताबाहिर रहेका दल नेकपा एमाले, राप्रपालगायत अन्य दल र स्वतन्त्र गरेर जम्मा मतभार २ हजार ५६७ मात्रै पुग्छ।

यता वागमती प्रदेशमा पनि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको सत्ता गठबन्धन स्पष्ट बहुमतमा छ । उनीहरूको मतभार ६ हजार ७५१ पुग्नेछ। प्रतिपक्ष नेकपा एमालेसहित सत्ताबाहिर रहेका दलको मतभार ३ हजार ५५२ मात्रै हुन्छ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनको पक्षमा ३ हजार ६६४ मतभार कायम छ भने सत्ताबाहिर रहेका नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको समेत गरी २ हजार ७३६ मात्रै छ।

उता, लुम्बिनीमा पनि सत्तरुढ दलहरूको मतभार ६१ प्रतिशत अर्थात् ५ हजार ३४८ पुग्दा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको जम्मा मतभार ३ हजार ४०४ मात्रै पुग्ने तथ्यांंक छ।

कर्णालीमा सत्ता गठबन्धनको मतभार ७१ प्रतिशत रहेको छ । उनीहरूको मतभार ३ हजार ७०७ पुग्छ भने एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको जम्मा मतभार १ हजार ४९७ मात्रै छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरूको मतभार ७३ प्रतिशत अर्थात् ४ हजार ५१० रहेको छ भने सत्ताबाहिर रहेका दलहरू एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको मतभार १ हजार ५९० मात्रै पुग्छ।

देशभरको मतदाताको संख्यात्मक विवरण हेर्दा वर्तमान सत्ता गठबन्धनको पक्षमा ३७ हजार ६८१ मतभार कायम रहेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य सबै दल र स्वतन्त्र जनप्रतिनिधिसमेतको मतभार २० हजार ७ मात्रै छ। यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *