प्रतिव्यक्ति ऋण ८१ हजारको भार

Sharing is caring!

माघ ९, २०८० । सार्वजनिक ऋणको भार तीव्र गतिमा वृद्धि हुँदै गएको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै ८५ अर्ब १३ करोड रुपियाँले सार्वजनिक ऋण वृद्धि भई २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपियाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार सरकारको ऋण हरेक वर्ष बढ्दै जाँदा पछिल्लो पाँच वर्षमा दोब्बरभन्दा बढीले सार्वजनिक ऋण वृद्धि भएको छ।

आर्थिक २०७५-७६ सम्म १० खर्ब ४८ अर्ब १५ करोड रुपियाँ मात्रै सार्वजनिक ऋण रहेको थियो। २०७८ को जनगणनाका आधारमा प्रतिव्यक्ति ऋणको भार ८१ हजार ७ सय ५९ रुपियाँ पुगेको छ।

चालू आर्थिक वर्षमा मात्रै प्रतिव्यक्ति ऋणको भार करिब ३ हजार रुपियाँले वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति ऋण ७८ हजार ८ सय ४० रुपियाँ थियो।

सरकारले लिएको सार्वजनिक ऋणमध्ये आन्तरिकतर्फ ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख र वाह्यतर्फ ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपियाँ छ।

कुल गार्हस्थ उत्पादन ९जीडीपी० को आधारमा ४४ दशमलव ३१ प्रतिशत सार्वजनिक ऋण रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार हाल नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपियाँ रहेको छ।

सरकारले चालू आर्थिक वर्षमा १ खर्ब १६ अर्ब ५८ करोड ५ लाख रुपियाँ सार्वजनिक ऋण व्यवस्थापनका निम्ति खर्च गरेको छ।

जसमध्ये आन्तरिक ऋणको साँवा ५९ अर्ब ३७ करोड १६ लाख र ब्याज ३४ अर्ब १९ करोड ४८ लाख गरी ९३ अर्ब ५६ करोड ६४ लाख रुपियाँ भुक्तानी गरेको छ।

त्यस्तै, बाह्यतर्फ साँवा १८ अर्ब ७ करोड ९८ लाख र ब्याज ४ अर्ब ९३ करोड ४३ लाख गरी २३ अर्ब १ करोड ४१ लाख रुपियाँ भुक्तानी गरेको छ।

सोही अवधिमा सरकारले १ खर्ब २८ अर्ब ३१ करोड आन्तरिक र ३४ अर्ब २७ करोड ४९ लाख वाह्य गरी कुल १ खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपियाँ ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

सरकारले ऋणको साँवा ब्याज भुक्तानीका निम्ति वित्तीय व्यवस्थापन शीर्षकमा चालू आर्थिक वर्षमा ३ खर्ब ७४ अर्ब ५ करोड ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।

सरकारी तथ्यांकलाई हेर्दा विकास निर्माणका निम्ति गरेको खर्चभन्दा ऋण व्यवस्थापनमा गरेको खर्च उच्च छ। चालू आर्थिक वर्षको छ महिनामा विकास निर्माणका निम्ति गरिने पुँजीगत खर्च जम्मा ५३ अर्ब अर्थात् १८ प्रतिशतको हाराहारीमा मात्रै खर्च भएको छ।

पुँजीगत खर्च न्यून भए पनि सार्वजनिक ऋण बढ्दै जाँदा सरकारले ऋण लिएर साधारण खर्च धान्दै आएको देखिन्छ।

माघ महिनाको पहिलो सातासम्म सरकारले ५ खर्ब २५ अर्ब १५ करोड २९ लाख रुपियाँ आम्दानी गर्दा ५ खर्ब ९३ अर्ब ७९ करोड ५२ लाख रुपियाँ खर्च गरेको छ।

अर्थात् छ महिनामा सरकारलाई ६८ करोड रुपियाँको हाराहारीमा बजेट घाटा रहेको स्थिति छ। यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *