संसदमा चिकित्सा शिक्षा विधेयक, सहमतिबिना अघि बढे संसद् अवरोध

Sharing is caring!

पुस ३०, २०७५ । लामो समयदेखि प्रतीक्षा गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरी संसदीय समितिले आइतबार संसद्मा प्रतिवेदनसहितको विधेयक पेस गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने आफूसँग छलफल र सहमति नगरी संसद्बाट पारित गर्न खोजे बैठक अवरोध गर्ने जनाएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसद्को शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेस भएको हो । समिति सभापति जयपुरी घर्तीले पेस गरेको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै काग्रेस सांसदहरुले आफूहरुसँग छलफल नै नगरी गोविन्द केसीको मागलाई बेवास्था गरिएको बताएका छन् । संसद्को गत १३ भदौको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो । समितिले ११ असोजमा विधेयकमाथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेस गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले १५ वटा बैठक गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, संशोधन पेस गर्ने सांसद र विज्ञसँगसमेत छलफल गरी २३ पुसमा समितिलाई प्रतिवेदन बुझाएको थियो । त्यसपछि सो प्रतिवेदनलाई २५ पुसमा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतले पारित गरेको थियो । समितिबाट पारित भएको विधेयक सरकारले आफूसँग गरेको सहमतिविपरीत भएको भन्दै सोही दिनदेखि डा. केसी इलाममा अनशनरत छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आफ्नो पार्टीसँग सहमति गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गराउन सरकारलाई आग्रह गरेका छन् ।

‘बहुमतको आडमा विधेयक सत्ता पक्षले पारित गराए हाम्रो पार्टी संसद् बैठक अवरोध गर्न बाध्य हुनेछ,’ सांसद बडूले भने, ‘पटकपटक चिकित्सा शिक्षा सुधारका लागि अनशन बसेर सरकारलाई दबाब दिँदा पनि भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा सरकार उदासीन देखिएको छ ।’ वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति सो विधेयकमा हुनुपर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसले अडान राखेको छ । कांग्रेस नेता बडूले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बिगँ्रदै गएकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीसँग भएको सहमतिअनुसार सो विधेयक पारित गर्न सरकारलाई पुनः छलफलमा आउन सचेत गराए ।
विधेयक संसद्मा पेस गरेपछि संसद्भवनबाहिर प्रतिक्रिया दिँदै उनले सो विधेयक बहुमतको आडमा पारित गराए संसद् बैठक अवरुद्ध पार्ने चेतावनी दिए । कांग्रेस सांसदहरूले असहमति रहे पनि वरिष्ठ चिकित्सक केसीसँग भएको सहमतिविपरीत सो विधेयक संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतले पारित गरी संघीय संसद्को प्रतिनिधिसभामा पेस गरिएको हो । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *