सुन तस्करी प्रकरण : सिआइबीले सरकारी वकिल कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन

Sharing is caring!

भदौ २७, २०८० । तस्करीको ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ दिन लगाएर तयार पारेको अध्ययन प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । जसमा ३२ जना हिरासतमा छन् । हिरासतमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, कार्गो एजेन्ट ४,ट्याक्सी चालक,भाषा अनुवादक १, सुन व्यवस्थापनका लागि कम्पनी खोल्ने र माल बस्तु व्यवस्थापन गर्ने २-२ जना, सुनको कारोबारमा संलग्न ११ जना सहित, २३ जना नेपाली र ९ विदेशी नागरिक रहेका छन् । १८ जना अझै फरार रहेको सीआइबीले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलनमार्फत सीआइबी प्रमुख किरण वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४२ जनाको टोलीले ३५ दिन गलाएर उक्त अनुसन्धान गरेको जानकारी दिइन् ।

सीआईबीले विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेका चिनियाँ नागरिक दाओजिन वाङलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो ।

जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *