नेपाल टेलिभिजनले जननी हुनुको गौरव जोगाएको छ : प्रधानमन्त्री दाहाल

Share this news:

माघ १७, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली पत्रकारिता क्षेत्रमा देखिएको विभिन्न चुनौती सामु नेपाल टेलिभिजनले नेपालको राष्ट्रिय टेलिभिजन प्रसारणको जननी हुनुको गौरवलाई जोगाइराख्न सफल भएको बताएका छन् ।

बुधबार देशकै पहिलो टेलिभिजन (नेपाल टेलिभिजन) को ३९औं स्थापना दिवसको अवसरमा दाहालले शुभकामना व्यक्त गर्दै टेलिभिजनले आफ्नो स्थापनाको गौरवलाई जोगाउन सफल भएको बताए । उनले टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल परिमार्जित र प्रविधिमैत्री बनाउँदै लैजान पर्नेमा जोड दिए ।

उनले लोकतन्त्र र नागरिक अधिकारलाई आफ्नो सरकारले सर्वोपरि राखेको तथा अभिव्यक्ति स्वतन्त्रतालाई जिम्मेवार रूपमा सदैव सुरक्षित गर्ने समेत प्रतिबद्धता जनाए । ‘म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु । त्यसैले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात गरिएका विषयवस्तुहरु नेपाल टेलिभिजनमा देख्न चाहन्छु । यसका साथै देशकै पहिलो टेलिभिजन भएकाले नेपाल टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रको प्रविधिमा आएको परिवर्तन अनुसार समयानुकूल बनाउनुपर्ने अवस्था देखेको छु’ दाहालले भने ।

प्रधानमन्त्री दाहालले आफ्ना उत्पादन र प्रसारणलाई नेपाल टेलिभिजनले नयाँ प्रविधितर्फ स्थापित गर्न ढिला गर्न नहुने र संस्थानको विकासको लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उल्लेख गरे । टेलिभिजनले आम दर्शकको रूचिलाई ध्यानमा राखेर आफ्ना विषयवस्तु तयार पार्नुपर्ने उल्लेख गर्दै दाहालले भने, ‘आगामी दिनका लागि सकारात्मक प्रभाव पार्ने योजनाको सङ्कल्प तयार गर्नुहोस्, सस्थानको विकासका लागि मेरो र सरकारको सहयोगी भूमिका रहनेछ ।’

दाहालले वर्तमान सरकारले पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको मात्र बताएनन् सरकारले नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि नभएर सञ्चारमाध्यम नियमन र व्यवस्थापनका लागि ल्याएको जिकिर गरेका छन् ।

तर, उनले गलत सूचना प्रवाह भैरहेको र सही र सन्तुलित सूचना प्रवाहमा पत्रकार र मूलधारका मिडिया चुक्न नहुने भन्दै थपे, ‘गलत र असन्तुलित सूचना र समाचारले व्यक्ति पीडित हुने, परिवार र समाज विखण्डित हुने अनि राज्य कमजोर बन्दै जाने जोखिम रहन्छ । त्यसैले सही, सन्तुलित र सत्य सूचना र समाचार प्रवाहको व्यावसायिक जिम्मेवारी निर्वाहमा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर र संवेदनशील हुनुपर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *