कांग्रेस–एमालेबीच नयाँ गठबन्धनको प्रयत्नमा नेताहरू

Sharing is caring!

चैत २३, २०८० । प्रतिनिधिसभाको निर्वाचनमा दलहरूले प्राप्त अस्थिर जनमत र गठबन्धन गरेर चुनावी मोर्चाबन्दी गरेका दलहरूले गरेको नागरिकप्रतिको बेइमानीका कारण संसद्मा सहभागी दलहरू सत्ता र गठबन्धन जोड घटाउमै रुमल्लिएका छन् । सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको पुरानो गठबन्धन तोडेर एमालेसहितको नयाँ समीकरण बनाएको एक महिना नपुग्दै गठबन्धन परिवर्तनको अर्को खेल शुरू हुन थालेको हो ।

पाँचदलीय नयाँ सत्ता सहयात्रीबीच समेत कुरा नमिलिरहेको अवस्थामा नेपाली कांग्रेसका शीर्ष नेताहरू एमालेसँग सहकार्यको हात अघि बढाउने प्रयत्नमा लागेका छन् । वर्तमान सत्ता गठबन्धनले राजनीतिक स्थिरता दिन नसक्ने भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताउनुभयो । नेता कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको छ । यो गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना छैन । विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको हो ।’देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको उहाँको भनाइ छ । ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । अहिलेको गठबन्धनले देशको आर्थिक विकास हुने सम्भावना छैन । राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा हरेक प्रदेशमा आइसकेको छ ।

हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अफ्ठ्यारो हुन्छ’, कोइरालाले भन्नुभयो– ‘स्टेबल गभर्मेन्ट दिन जरुरी छ । पहिलो संविधानसभाका बेला चार जना प्रधानमन्त्री कम्युनिस्टबाटै बन्नुभयो, तर संविधान बनेन । संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो । देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ ।’

कोइरालाले यसअघि पनि वर्तमान सरकार लामो समय नरहने जिकिर गर्दै नेपाली कांग्रेस चाँडै सत्तामा आउने ठोकुवा गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्रै सत्ता उलटपुलट गरेर विश्वासको मतमा ह्याट्रिक गर्नुभएको छ । उहाँले गत फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जनता पार्टी, नेकपा एस र जनमतलाई लिएर विश्वासको मत लिनुभएको थियो । त्यसयता प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले सत्ता सहकार्यमा एमालेसँगको प्रयासलाई पूर्णता दिने गरी लागेको कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।

सत्तामा पुग्ने नयाँ खेलअनुसार कांग्रेस–एमालेबीच गठबन्धनको प्रयत्नमा नेताहरू लागे पनि इलाम निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनसम्म नयाँ कुरा केही नभए पनि गठबन्धन परिवर्तनको खिचडी पाकिरहेको नै छ । एमालेसँग सरकारमा सहकार्य गर्नका लागि कांग्रेसका अधिकांश नेताहरू तयार देखिएका छन् । कांग्रेसका महामन्त्री गगन थापाले पटकपटक वर्तमान सत्ता गठबन्धन लामो समय नरहने भन्दै कांग्रेसलाई सत्ताले पछ्याइरहेको बताउँदै आउनुभएको छ । पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरे पनि नेताहरूले हरेक कार्यक्रममा कांग्रेस–एमालेबीचको सहकार्य प्राकृतिक न्यायको सिद्धान्तभित्र पर्ने नेताहरूले बताएका छन् ।

एमालेले पनि यसलाई मौन रूपमा स्वीकार गरेको छ । कांग्रेससँगको राजनीतिक सहकार्यलाई इंगित गर्दै नेकपा एमालेका एक नेताले भने– ‘हामी वामपन्थी एकताको कुरालाई बढी जोड दिन्छौं । तर, अहिलेको नयाँ सत्ता समीकरण वामपन्थी एकतालाई बलियो बनाउनेखालको छैन । प्रधानमन्त्री प्रचण्डप्रति विश्वासको संकट त्यत्तिकै भएकाले देशको आवश्यकतालाई हेरेर नयाँ राजनीतिक कोर्सबाट मुलुकलाई स्थिरता, विकास र समृद्धितिर लान सकिन्छ कि भन्ने बहस पनि चलिरहेको छ ।’ कांग्रेस–एमालेका दोस्रो तहका केही विश्वाससिला नेताहरूबीच अनौपचारिक वार्ता समिति नै बनाएर यो विषयमा छलफलहरू चलिरहेको विश्वस्त स्रोतको दाबी छ ।

कांग्रेस एमाले मिलेर बाँकी रहेको करिब चार वर्षको समय जनताका पक्षमा सदुपयोग गर्नु उचित हुने एमाले–कांग्रेसका आम कार्यकर्ताको भावना छ । त्यस्तै, यही अस्थिरतालाई सधंै राख्न नहुने राजनीतिक विश्लेषकहरू बताउँछन् । २०७९ मंसिरमा भएको आम निर्वाचनमा बहुमत ल्याउने र राजनीतिक स्थिरतासँगै जनताको सेवाप्रवाह, विकास निर्माण र आर्थिक, सामाजिक, सुशासनको पक्षमा उभ्याउने प्रतिबद्धता गरेका दलहरूले निर्वाचनलगत्तै नयाँ सरकार बनाउने बेलामा जनमतमाथि लात हानेर अस्थिरतालाई प्रश्रय दिएको राजनीतिक विश्लेषक विष्णु पन्थीले बताउनुभयो ।

जीवन शर्मा, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पहिलो कुरा सरकार बनाउन आवश्यक बहुमत कुनै दलले पाएनन् र कम्तीमा पाँच दल जोडेर मात्रै सरकार निर्माण सम्भव हुने अवस्था आयो, यो एउटा अस्थिरताको कारण हो । तर, त्योभन्दा ठूलो गल्ती राजनीतिक दलहरूले नै गरेका छन् । चुनावअघि पाँच वर्ष गठबन्धन कायम गरेर सरकार सञ्चालन गर्ने र राजनीतिक स्थिरतासँगै जनताको सेवाप्रवाह, विकास निर्माण र आर्थिक, सामाजिक, सुशासनको पक्षमा उभ्याउने प्रतिबद्धताप्रति नेताले जनतालाई ढाँटेका छन् । राजनीतिक पार्टीका नेताहरूले गैरराजनीतिक चरित्र प्रदर्श गर्नु नै अस्थिर सत्ता राजनीतिको चपेटामा मुलुक परिसकेको छ । यसको विकल्पमा ठूला दलहरू मिलेर बाँकी कार्यकाल सरकार चलाउँदा ठिकै हुन्छ ।’ यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *