दबाबमा पुराना राजनीतिक दलहरु

Sharing is caring!

भदौ २३, २०८० । पुराना र प्रमुख दलहरुप्रति बढ्दो बितृष्णाका कारणले विकृत गतिविधि समेत देखिन थालेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण गर्ने जस्ता विकृत कार्यलाई बढ्दो बितृष्णासँग नेताहरुले जोडेका छन् । बिहीबारकै संसद् बैठकमा यादवमाथिको आक्रमणलाई ठूला दलका सांसदहरुले स्वतन्त्र र नयाँ शक्तिहरुको विकृत गतिविधिसँगै जोडे ।

जबकी यादवमाथि सांघातिक आक्रमण गरिसकेपछि राजसंस्थाको नारा लगाएका थिए । आक्रमणकारीले राजसंस्थाको पक्षमा नारा लगाएपनि त्यही एजेण्डालाई लिएर राजनीति गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ती व्यक्ति आफ्नो पार्टीमा आवद्ध नरहेको प्रष्टोक्ति दिएको छ । तर ठूला दलका सांसदहरुले जबर्जस्त वैकल्पिक राजनीतिको वकालत गर्नेहरुलाई उक्त आक्रमणको आरोप लगाउने प्रयास गरे ।

ती सांसदहरुले काठमाडौं महानगरका मेयर बालेनले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएको केही दिनभित्रै खुकुरी प्रहार गरिनुलाई जोड्ने प्रयास गरेका थिए । तर यो घटना प्रहरी अनुसन्धानको विषय हो, छानबीनबाटै घटना निष्कर्षमा पुग्नेछ ।

तर यो निन्दनीय सांघातिक आक्रमण हुनु अगाडि समेत पुराना दलहरु दबाबमा पर्दै आएका छन् । गत वर्ष सम्पन्न तीन तहको चुनावको नतिजाबाटै ठूला दलहरुको आकर्षण घटेको पुष्टि भएको थियो । स्थानीय चुनावमा काठमाडौं महानगरकै मेयरमा गैरदलीय उम्मेद्वार बनेर बालेनले चुनाव जिते । धरान महानगरपालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरको मेयरमा गोपी हमाल लगायत गैरदलीय उम्मेद्वारले जितेपछि मंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्तिले अप्रत्यासित मत पाउन बल पुग्यो ।

पार्टी गठन भएको सात महिनाभित्रै रास्वपाले २० सिट जितेर चौथो शक्ति बन्यो । जनमत पार्टीले आफूलाई राष्ट्रिय पार्टी बनायो भने नागरिक उन्मुक्तिले पनि राम्रो उपस्थिति जनायो । जसले गर्दा मुलुकमा कुनैपनि दलले प्रष्ट बहुमत ल्याउन सकेनन् । जसको परिणाम सत्ता निर्माणमा परिरहेको छ ।

त्यसपछि पनि नयाँ दलहरुप्रति मतदाताको रुझान घटेको छैन । गत १० वैशाखमा सम्पन्न उपनिर्वाचनको नतिजा त्यसैको उदाहरण थियो । तनहुँ–१, चितवन–२ र बारा–२ मा सम्पन्न उपनिर्वाचनमा रास्वपाले बलियो उपस्थिति जनाएको थियो । चितवन र तनहुँमा रास्वपाले चुनाव नै जित्यो भने बारामा जनमत पार्टीले प्रतिस्पर्धी मत ल्यायो ।

यसरी लगातार दबाबमा पर्दै आएका ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पार्टी मत जोगाउन अहिलेबाटै लागिपरेको देखिन्छ । एमाले आमचुनाव सकिएपछि पहिलो दुई महिने मिसन ग्रासरुट र लगत्तै एकवर्षे अभियानमा छ । कांग्रेसले साउन पहिलो साता केन्द्रीय कार्य समिति बैठक राखेर एक वर्षे विशेष अभियान चलाइरहेको छ । लगत्तै माओवादी केन्द्रले पनि तीन महिने जनस्तर अभियान शुरु गरेको छ । यी तीन वटै दलहरुको उद्देश्य पार्टीको मत जोगाउने देखिन्छ । किनकि परम्परागत पार्टी परित्याग गरेर रास्वपा प्रवेश गर्ने क्रम बढेको नेताहरुकै आन्तरिक प्रतिवेदनहरुमा उल्लेख छ । यो खबर मध्यान्ह दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *