३ अर्व ठगी गरेको आरोप लागेकालाई १० लाख रुपैयाँ धरौटीमा छाडिंदै

Sharing is caring!

जेठ ३१, २०७५ । कामदार विदेश पठाउँदा झण्डै ३ अर्व रुपैयाँ ठगी गरेको आरोप लागेका भिएलएन नेपालका रामप्रसाद श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ । सो धरौटी बुझाउन श्रेष्ठले तयारी गरिरहेको अदालत स्रोतले आर्थिक अभियानलाई जानकारी दियो ।

न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले उनीहरुलाई १० लाख धरौटी राख्न आदेश दिएको हो । भीसा प्रोसेसिङ, राहदानी संकलनलगायतका नाममा विदेश जाने कामदारबाट भिएलएन नेपाल प्रालि र वन स्पट सेन्टर (ओएससी) नामक कम्पनीले २ अर्व ८६ करोड १५ लाख रुपैयाँ ठगी गरेको आरोप लगाई गत सोमवार सरकारले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

भिएलएन र ओएससीले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि प्रहरीले लामो समय लगाएर अनुसन्धान गरेको थियो । सो अनुसन्धान पछि सरकारी वकिलले मुद्दा दायर गरेको हो । विशेष गरी मलेशीया कामदार पठाउने गरेका ती निकायले सम्बन्धित कुनै पनि निकायसँग अनुमति नलिइ रकम उठाउने गरेको आरोप लगाइएको छ ।

२०७१ सालमा तत्कालीन संसद अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले ती कम्पनीहरुले आफ्नै प्रवन्धपत्रको उल्लङ्घन गरी कामदारसँग रकम लिई उनीहरुलाई विदेश पठाउने गरेको ठहर गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको उक्त कम्पनी खारेज गर्न सो समितिले पत्राचारसमेत गरेको बताइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले उक्त कम्पनीलाई खारेज गर्न नपर्ने उल्लेख गर्दै समितिलाई पत्र पठाएको थियो ।

यसैगरी सो काण्डमा राष्ट्र सेवक पनि जोडिएको आशंकामा समितिले त्यसमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरेको थियो । त्यसमा हालसम्म कुनै अनुसन्धान प्रकृया अगाडि नबढेको अख्तियार स्रोतले बतायो । केही वर्ष अघि वैदेशिक रोजगार विभागले पनि कम्पनीको कृयाकलापलाई लिएर अनुसन्धान गरेको थियो । सो अनुसन्धान बीचैमा छोडिएको थियो ।
विदेश जानेबाट उठाइएको रकम ती कम्पनीले मलेशीया र सिंगापुर पठाइसकेको प्रहरीले आशंका गरेको छ ।यो खबर आजको आर्थिक अभियानमा विकाश भट्टराईले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *