२३ अधिकृतसहित १८७ सैनिकलाई ‘कोर्टमार्सल’

Sharing is caring!

मंसिर १४, २०७५ ।  नेपाली सेनाले २३ अधिकृतसहित एक सय ८७ सैनिकलाई ‘कोटमार्सल’ गरेको छ । ०७३ देखि ०७५ मा सेनाको विभिन्न पदमा खुलेको भर्नामा अनियमितता गरेको फेला परेकाले उनीहरूलाई कारबाही गरिएको हो ।

भर्ना प्रक्रियामा अनियमितता देखिएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सो विषयमा अनुसन्धान गर्न गत ६ जेठमा सहायक रथीको अध्यक्षतामा नौसदस्यीय ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेका थिए । सोही इन्क्वाइरीको सिफारिसपछि २३ अधिकृतसहित एक सय ८७ सैनिकलाई कोटमार्सल गरिएको हो ।

दुई सैनिक अधिकृतलाई ६ वर्ष कैद सजाय
सैनिक अदालतले उनीहरूबाट तीन करोड २२ लाख ७५ हजार रुपैयाँ राजस्व दाखिला गरिनुपर्ने र कैद सजाय सुनाएको छ । सेनाका अनुसार दुई अधिकृतलाई भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य ठहरिने गरी ६ वर्ष कैद सजायको फैसला सुनाइएको छ । दुई अधिकृतसहित ६ सैनिकको हकमा भविष्यमा सरकारी जागिरमा अयोग्य नठहरिने गरी ३५ दिनदेखि तीन वर्षको कैद सजाय सुनाएको छ ।

एक अधिकृतसहित अन्य पदको दुई सैनिकलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त, एक सैनिकलाई बिगो रकम दाखिलासहित चार वर्ष बढुवा रोक्का गर्ने फैसला गरेको छ । दोषी देखिएका अर्का पाँच सैनिकलाई दुई वर्षदेखि पाँच वर्षसम्मको बढुवा रोक्का गर्ने फैसला गरेको छ । मापदण्डविपरीत भर्ना भएका एक सय एक विभिन्न दर्जाका सैनिकलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेको छ ।

भर्ना हुँदा आर्थिक लेनदेनमा सहभागी देखिएका ३७ सैनिकलाई तीन वर्ष बढुवा रोक्का हुने फैसला भएको छ । सैनिक ऐनअनुसार पदीय दायित्व पूरा नगर्ने १६ अधिकृतसहित १७ सैनिकलाई भने सचेत गराउने फैसला भएको छ । आरोपीमध्ये चार अधिकृतसहित चौधजनाले सफाइ पाएका छन् । दोषी देखिएका एक सैनिकलाई साबिकको पदबाट एक तह घटुवा गर्ने फैसला भएको छ ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *