स्कुल बस निर्देशिकाको धज्जी, दर्जनौं नियम, सबै उल्लंघन

Sharing is caring!

भदौ १, २०७६ । विद्यार्थी ओसारपसारका लागि सञ्चालनमा ल्याइएका सवारीसाधनकोे सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउने उद्देश्यले ल्याइएको स्कुल बस निर्देशिकाको धज्जी उडाइएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५३ मा भएको प्रावधानलाई टेकेर ल्याइएको निर्देशिकाको शिक्षण संस्थाले पालना गरेका छैनन् भने सरकारले समेत अनुगमन गर्ने गरेको छैन । शिक्षण संस्थाले नियोजित रूपमा पालना नगर्नु र सरकारी पक्षले अनुगमन नगर्नाले निर्देशका कागजमा लेखिएको अक्षरभन्दा फरक देखिएको छैन ।

निर्देशिकामा स्कुल बसको मापदण्ड, स्कुल बस परिचालक, सिट संख्या, बसको क्षमता, बसको गतिलगायतको नियम बनाइएको छ । ती सबै नियमको पालना भने सम्बन्धित पक्षले गरेका छैनन् ।

पालना गरे/नगरेकोबारे अनुगमन पनि शून्य जस्तै छ भने सरकारी पक्षले नियमको उल्लंघन भएको थाहा पाउँदा पाउँदै पनि अनुगमन तथा कारबाही नगरी मनोमानी गर्न छुट दिइरहेका छन् ।

ट्राफिक प्रहरी रविकुमार पौडेल निर्देशिका कार्यान्वयन आएको र चेक जाँच कडाइ गरिएको तर हाल धेरै सुधार भएकाले सामान्य चेक जाँच भइरहेको बताउँछन् । तर, अधिकांश शिक्षण संस्थाले भने निर्देशिका उल्लंघन गरिररहेको पाइएको छ ।

निर्देशिकाको बुँदा नम्बर १ को ‘क’ मा नै स्कुल बसको बाहिरको रंग पहेंलो हुनुपर्ने उल्लेख छ । यहाँका कतिपय शिक्षण संस्थाले सार्वजनिक बस तथा माइक्रोलाई स्कुल बसका रूपमा प्रयोग गर्दै आएका छन् ।

बस भाडामा लिएको भए स्कुलको नामसहित अन स्कुल ड्युटी लेखिएको ब्यानर वा बसको अगाडि र पछाडि देखिने गरी स्कुल बस लेखिएको प्लेट हुनुपर्ने व्यवस्था छ । त्यस्तै, स्कुलको परिचय खुल्ने गरी १५० मिमि उचाइको गोल्डेन ब्राउन रंगमा स्कुलको नाम दुवैपट्टि झ्यालको लेभलभन्दा तल लेख्नुपर्ने र स्कुलको ठेगाना र फोन नम्बर पनि उल्लेख गर्नुपर्ने व्यवस्था छ । अधिकांश विद्यालय तथा कलेजहरूले यसको पालना नगरेको पाइएको छ ।

निर्देशिकामा स्कुल बसले पूरा गर्नुपर्ने १३ वटा भौतिक मापदण्ड छन् । ती अधिकांश मापदण्डको पनि पालना भएको पाइएको छैन ।
मापदण्डमा सबै स्कुल बसमा पछिल्लो आधा भागको दाहिनेतिर आपतकालीन ढोकाको व्यवस्था गर्नुपर्ने, बसको झ्यालमा दुवै साइडमा कम्तीमा तीन वटा ग्रिल राख्नुपर्ने व्यवस्था छ ।

यस्तै, स्कुल बसमा प्राथमिक उपचार बाकस हुनुपर्ने, देखिने ठाउँमा अग्नि नियन्त्रण उपकरण राखिएको हुनुपर्ने, प्रत्येक बसमा अनिवार्य रूपमा फोहर फ्याँक्ने टोकरी हुनुपर्ने, बसको सिटहरू दुरुस्त हुनुपर्ने, बसभित्र स्कुल ब्याग तखताको व्यवस्था हुनुपर्नेलगायत नियम छन् ।

निर्देशिकामा स्कुल बसमा परिचालकको व्यवस्था हुनुपर्ने र १२ वर्षभन्दा मुनिका विद्यार्थीलाई बसको सिट क्षमताभन्दा १.५ गुणा बढी र १२ वर्षभन्दा माथिका विद्यार्थीको हकमा सिट क्षमता बराबरको संख्यामा मात्र विद्यार्थी राख्न पाउने नियम छ ।

स्कुल बस सञ्चालनमा कुनै प्रकारको बालश्रम प्रयोग गर्न नपाइने व्यवस्था छ भने बसको गति अधिकतम ४० किमि प्रतिघण्टा हुनुपर्नेछ । बसको परिचालकले चाहिएको बेलामा विद्यार्थीलाई ओराल्ने, चढाउने वा बाटो काट्ने प्रयोजनका लागि चाहिने ट्राफिक चिह्न बसभित्र हुनुपर्ने व्यवस्था छ ।

निर्देशिकाको बुँदा नम्बर १६ मा निर्देशिका कार्यान्वयन गर्ने सिलसिलामा कुनै द्विविधा देखिए यातायात व्यवस्था विभागको निर्णय अन्तिम हुने उल्लेख छ भने निर्देशिकामा भएका व्यवस्था उल्लंघन गरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, नियमअनुसार कारबाही हुने उल्लेख छ । विभागले नियमको पालना भए–नभएकोबारे अनुगमन गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गर्ने काम भने न्यून मात्रामा गर्ने गरेको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *