सूरक्षा थ्रेट आयो भन्दै विजय थापाले सारे अनशनको कार्यक्रम

Sharing is caring!

माघ २२, २०७६ । शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई उन्मुक्ति दिन खोजिएको भन्दै आफू त्यसको विरुद्धमा आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

गिरीले बि. एण्ड.सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईसँग २० करोड घुस मागेको काण्ड बाहिर आईसक्दापनि सरकारले उनीमाथि कुनै छानबिन नगरेकोमा थापाको गुनासो छ ।

उनले गिरीविरुद्ध आजकै दिन अर्थात माघ २२ गते अनशन बस्छु भनेर यसअघि रिपोर्टर्स क्ल्ब नेपालमा पत्रकार सम्मेलन गर्दै अनशन बस्ने घोषणा गरेका थिए । उनले आजबाट सुरु गर्ने अनशन आउने फागुन ३ गते बस्नेगरि पर धकलेको जानकारी गराए । घुस काण्डबारे अहिले संसदमा पनि कुरा उठिरहेकोले र आफ्नो आन्दोलनप्रति व्यापक जनसमर्थन जुटाउने उद्देश्यले आफूले आज बस्ने भनिएको अनशनको कार्यक्रमलाई आगामी फागुन ३ गतेलाई सारेको जानकारी दिए ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूमाथि पछिल्लो समय ‘सुरक्षा–थ्रेट’ पनि बढेको सुनाए । उनले भने,‘म माथि सुरक्षा थ्रेट बढेको छ, यसको हामी संगठित रुपमा प्रतिकार गर्ने तयारीमा जुटेका छौं ।’ उनले आयोगका उपाध्यक्ष गिरीले केही भिजिलान्ते र कुण्डले–मुण्डले पालेको भनेर गम्भिर आरोप समेत लगाए । उनले भने,‘हामी पटक पटक आयोगका कार्यालय ज्ञापनपत्र बुझाउनका लागि गयौं । तर, गिरीले गुण्डा र भिजिलान्ते लगाएर हामीलाई कार्यालय जानै दिएनन् ।’ उनले छिट्टै संघर्षका कार्यक्रम पनि तयार गर्नुपर्ने भएकोले आजको अनशनलाई १० दिनपछि धकेलेको स्पष्ट पारे ।

उनले आफूलाई प्रसाईको मान्छे भनेर पनि आरोप लगाउने गरिएकोमा गुनासो पोखे । उनले भने,‘प्रसाईसँग मेरो कुनै व्यक्तिगत चिनजान छैन् । उहाँसँग सम्पर्क पनि छैन् ।’ उनले दुर्गा प्रसाईलाई कानूनी डण्डा देखाएर तर्साउने काम भएको र घुस काण्डमा मुछिएका गिरीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाए ।

उनले भने,‘सम्पूर्ण घट्नामा म संलग्न छु । हिम्मत भए मलाई पक्राउ गरेर देखाउ ।’ उनले प्रहरी प्रशासनले खोजिरहेका दुर्गा प्रसाईलाई पनि सम्पर्कमा आउन आग्रह गरे । ‘यो प्रकरणमा दुवैमाथि छानबिन हुनुपर्छ । हामी दुर्गा प्रसालाई केही पनि हुन दिन्नौं । म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु ।’ जायज माग राखेर आन्दोलनका कार्यक्रम अघि बढाउँदा आफूमाथि गुण्डागर्दीको आरोप लगाउने काम भएको पनि उनले गुनासो पोखे ।

उनले भने,‘मलाई कहिले मार्सी चामलको झोले भनिन्छ, मलाई विभिन्न आरोप लाग्दै आएका छन् । कहिले योगेश भट्टराईको गुण्डा भनियो, ती सबै आरोपमा सत्यता छैनन् ।’

उनले आयोगका उपाध्यक्ष गिरीले घुस मागेको कारण आफूहरुले राजीनामा मागेको स्पष्ट पारे । उनले भने,‘यो प्रकरणमा छानबिन होस् । यति छानबिन गर भन्दा उहाँले उल्टै जिल्ला प्रशासन कार्यालयलाई कारबाही गर भनेका छन् । यसका लागि म पछाडि हट्दिन् । म माथि अभद्र मुद्दा लगाउँछु भनिएको छ, लगाए हुन्छ । गिरीलाई भन्न चाहन्छु तपाई पनि कानूनी दायरामा आउनुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *