सुरक्षा मैत्री पेट्रोल पम्प बनाइँदै

Sharing is caring!

भदौ १४, २०७५ । नेपाल आयल निगमले अत्याधुनिक प्रविधिसहित सुरक्षा मापदण्ड अपनाइएका नमुना पेट्रोल पम्प स्थापना गर्ने तयारी गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर आधुनिक प्रविधिसहितका पम्प खोल्ने गृहकार्य गरेको हो । पेट्रोल पम्पलाई व्यवस्थित समय अनुकूल बनाउन विनियमाली संशोधन गर्न लागिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार हाल भइरहेका पम्प मापदण्डअनुरुप नभएकाले विनियमाली संशोधन गरेर नयाँ व्यवस्था गर्न लागिएको हो ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बिक्रेता विनियमावली संशोधन गरेर नयाँ खुल्ने पेट्रोल पम्पलाई अत्याधुनिक प्रविधिसहित थप सुरक्षाका मापदण्डको व्यवस्था गर्न लागिएको बताए । निगमले भइरहेका पम्पलाई स्तरोन्नति गरे पनि २०६८ सालदेखि नयाँ बिक्रेतालाई अनुमति दिएको छैन । हाल बिक्रेता विनियमालीमा भएको व्यवस्थालाई खुकुलो बनाएर निगमले आधुनिक प्रविधिसहितका नयाँ पम्प खोल्ने तयारी गरेको हो । नयाँ खुल्ने पम्पमा उपभोक्तालाई सहज ढंगबाट सेवा उपलव्ध गराउनका लागि आधुनिक प्रविधिको प्रयोग गरिने छ । निगमले बिक्रेता विनियमाली संशोधन गर्न समिति गठन गरी मस्यौदासमेत तयार पारिसकेको छ ।
“एउटा पम्पबाट बटन अन गर्दा सबै पम्पमा मूल्य पुग्ने गरी गरी आधुनिक पेट्रोल पम्प बनाउन लागेका छौ,” कार्यकारी निर्देशक भट्टराईले भने, “पम्पमा बाटो हिँड्ने उपभोक्तालाई इन्धनको गुणस्तर, मूल्य, समय, तापक्रमबारे जानकारी गराउन डिजिटल युनिट तयार गरिने छ ।” पम्प स्थापना गर्न जग्गाको क्षेत्रफलसमेत बढाइने भएको छ । इन्धनको आपूर्ति व्यवस्था सहज पार्न सुगमसँगै दुर्गम स्थानमा पम्प स्थापना गरिने छ ।
यसअघि निगमले चार कठ्ठा जग्गामा बिक्रेतालाई अनुमति दिँदै आएको थियो । काठमाडौंमा भने एक रोपनी आठ आना जग्गामा पम्प सञ्चालन गर्न अनुमति दिने गरिएको थियो । इन्धनको मागअनुसार चारदेखि १० कठ्ठासम्म जग्गाको क्षेत्रफल गराउन लागिएको निगमले जानकारी दिएको छ । यस्तै राजमार्गलगायतका अन्य ठूला ठाउँमा आधा विघासम्म जग्गामा पम्प स्थापना गर्ने तयारी गरिरहेको छ ।
मुलुकका विभिन्न स्थानमा सुविधा सम्पन्न पेट्रोल पम्प सञ्चालन गर्ने गरी तयारी गरिएको निगमले जानकारी दिएको छ । नयाँ खोल्ने पम्पलाई क्षेत्र, बजार, आवश्यक खपत, सडकको स्तरअनुसार वर्गीकरण गरिने छ ।
नयाँ खुल्ने पेट्रोल पम्पले अनिवार्यरुपमा अत्याधुनिक प्रविधिसहित युनिट खडा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । पुराना ड्रममा राखेर तेल बेच्नेलाई स्तरोन्नति गरेर नयाँ ठाउँमा पम्प बनाउन दिए पनि नयाँ बिक्रेता अनुमति नदिएको निगमको भनाइ छ । पछिल्लो चार वर्षमा बजारमा इन्धनको खपत दोब्बर भएको छ । हाल सञ्चालनमा रहेका पेट्रोल पम्पलाई पनि विनियमाली संशोधन गरेर डिजिटलयुक्त बनाउन लागिएको छ । अहिले साधारण बिक्रेता चार कठ्ठामा छन् । अहिले भइरहेका पम्पको जग्गा बढाउन मिल्दैन । हाल भइरहेका पम्प साधारण बिक्रेता र नयाँ आउने नमुना विक्रेताका रूपमा आउने छन् ।
२०६५ सालअघि छाना नभएका पम्प कति छन् भनेर अध्ययन गरिरहेको निगमले जानकारी दिएको छ । पहिला भएको सुरक्षाको मापदण्डअनुरुप छन् की छैन भनेर अनुगमन गर्ने काम पनि भइरहेको निगमले जनाएको छ । १० केजीका चारवटा फायर बोतल हुनुपर्ने प्रावधान अधिकांश पम्पले लागू गरेको निगमको भनाइ छ । हाल सञ्चालनमा रहेका अधिकांश पम्पले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेका छन् । मुलुकभर करिब १ हजार ५ सय पेट्रोल पम्प सञ्चालनमा छन् ।यो खबर आजको कारोबारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *