सातै प्रदेश प्रमुखमा नयाँ अनुहार

Sharing is caring!

कात्तिक १९, २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णुप्रसाद प्रसाई, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्तलाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सातै प्रदेश प्रमुखका लागि नाम टुङ्गो लगाएको थियो; जसमा पूर्वएमालेबाट सोमनाथ अधिकारी ‘प्यासी’, विष्णुप्रसाद प्रसाई, धर्मनाथ यादव र गोविन्दप्रसाद कलौनी गरी चार जनाको नाम सिफारिसमा परेका थिए भने पूर्वमाओवादीबाट तिलक परियार, अमिक शेरचन र शर्मिला कुमारी पन्त गरी तीन जनाको नाम सिफारिस गरिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनको नतिजापछि २०७४ माघ ३ गते नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार पदमुक्त गरिएको थियो ।
सचिवालय बैठकपछि नेकपाका महासचिव विष्णु पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै प्रदेश प्रमुखहरूको नियुक्ति सिफारिस भएको बताउनुभयो । उहाँले सरकारको प्रतिनिधिका रूपमा काम गर्न उपयुक्त पात्रको छनोट संवैधानिक व्यवस्थाअनुसार नै गरिएको बताउनुभयो ।
उहाँले प्रदेश प्रमुखहरूको पदमुक्तिको विषयलाई लिएर प्रतिपक्षी दलबाट आएको प्रतिक्रियालाई लोकतान्त्रिक अधिकार भएको टिप्पणी गर्नुभयो । सहकार्यको संस्कृतिको अन्त्य भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “सरकारले संवैधानिक प्रक्रियाअनुसार काम गर्दा सहकार्य नै बन्द हुन्छ भन्ने लाग्दैन । ”यो खबर गोरखापत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *