सर्लाहीका बुद्धिजिवी भन्छन्: घरायसी लेनदेनको लागि ‘ऋण कारोबार’ आवश्यक छ

Sharing is caring!

माघ ४, २०७६ । सर्लाहीका बुद्धिजिवी तथा ऋणीहरुले घरायसी लेनदेनको लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औंल्याएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले घरायसी लेनदेनको लागि ब्याजमा ऋणको कारोबार गर्नुलाई अपराधको रुपमा नबुझ्न आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै कानून व्यवसायी राजीव सिन्हाले नेपालको प्रचलित कानूनले तोकेको दर रेटमा गरिने आर्थिक लेनदेनको कारोबारलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । उनले भने,‘कसैको घरमा छोरीको विवाह गर्नुपर्ने हुन्छ, कसैको उपचारको लागि पैसा चाहिन्छ, कसैलाई वैदेशिक रोजगारमा जानको लागि तत्काल पैसा चाहिएको हुन्छ, हाम्रो समाजमा यस्ताखाले अन्य सामाजिक गर्जो टार्नुपर्ने समस्याहरु आईरहन्छन्, यी समस्याको समाधान गर्नको लागि पनि यस्तोखाले कारोबार विगत लामो समयदेखि (परम्परा) को रुपमा चलिआएको छ, यस्तो कारोबारलाई कानूनले पनि मान्यता तथा संरक्षण गरेको छ ।’

उनले अघि थपे,‘जबसम्म राज्यले सानातिना गर्जो टार्ने वित्तिय संस्थाहरु गाउँघरमा पुर्याउने आफ्नो जिम्मेवारी पूरा गर्दैन् । तबसम्म यस्तो सामाजिक व्यवस्था (परम्परा) लाई निरन्तरता दिनुपर्छ, अहिले त विकल्प नै नदिईकन यस्तो व्यवस्थालाई विथोल्न खोजिएको छ ।’ उनले सर्लाहीका सञ्जय रौनियारको विरोधमा फौजदारी अभियोग दर्ता हुने अवस्था सिर्जना गरिएकोमा पनि गम्भिर असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा सर्लाही निवासी अधिवक्ता जगदेव चौधरीले पनि नेपालको संविधान र मूलुकी देवानी संहिता–२०७४ मा लेनदेन गर्नेबारे कानूनी व्यवस्था गरेको सुनाउँदै सो व्यवस्थामाथि सर्लाहीको साहुहरुमाथि लेनदेन गरेको आधारमा फौजदारी मुद्दा लगाई धरपकड गर्ने कार्य निन्दनीय भएको टिप्पणी गरेका छन् । उनले भने,‘साहूहरुमाथि भएको ज्यादती, धरपकडप्रति हाम्रो गम्भिर आपत्ति छ । सरकारको तर्फबाट यो काम तुरुन्त बन्द गर्नुपर्छ ।’

उनले साहूहरुमाथि भएको ज्यादती नरोकिएमा घरायसी लेनदेनको कारोबार बन्द हुने अवस्थासमेत सिर्जना हुन लागेकोबारे सचेत गराए । उनले भने,‘यदि यो कारोबार बन्द भयो भने बास्तवमा पीडितहरु झनै ठूलो पीडामा पर्छन् ।’ उनले सर्लाहीका साहु सञ्जय रौनियारले ‘मिटर ब्याज’ को कारोबार नगरेको दाबी गरे ।

कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य लालबिहारी यादवले पनि सामाजिक लेनदेनको कारोबार आवश्यक रहेको औंल्याए । उनले भने,‘यदि यो कारोबारलाई बन्द गर्ने हो भने हजारौं गरिब, किसान समूदायका मान्छेहरुलाई आफ्नो सामाजिक काम (गर्जौ ) टार्नपनि ठूलो समस्या हुन्छ । यसले सामाजिक संरचना बिगार्छ ।’

कार्यक्रममा रौनियारबाट ऋण लिएका सेवाग्राहीहरुको पनि उपस्थिति थियो । उनीहरुले सामाजिक लेनदेनको आर्थिक कारोबार बन्द गर्न नहुनेतर्फ सरकारको ध्यानाकार्षण गराएका थिए । ऋण लिएकाहरुमध्ये सर्लाही (हरिपुर्वाा नगरपालिका–बसतपुर) का आलम अन्सारी, नागेन्द्र साह, हिरा साह र ब्रम्हपुरी गाउँपालिकाका सुरज राउत र विक्रम राउत, मंलगवा नगरपालिकाका अमिरी राउतलागयतले बोलेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *