सरकारले आकाशे र उडन्ते गफ गर्यो: डा. महत

Sharing is caring!

भदौ २१, २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’

महतले सरकारले उपभोग्य कुरामा बढि खर्च गरेको गुनासो पोखे । सरकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

महतले अहिलेपनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । उनले भने,‘ललितपुरका कतिपय सडकका समस्या अहिलेपनि समाधान भएकै छैनन् ।’ उनले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । तर, समृद्धि हाँसिल गर्न त्यति सजिलो नभएको महतको भनाई छ ।

उनले भने,‘आर्थिक विकास र समृद्धि हाँसिल त कठिन एक्सरसाईजबाट मात्रै सम्भव हुन्छ । आफ्नो साधन र स्रोतलाई सही ढंगले उपयोग गर्नुपर्छ । व्यवस्थापन र प्रशासकीय क्षमता अभिवृद्धि गर्नुपर्छ । पुँजी लगानीमा ध्यान दिनुपर्छ ।’
अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनले सुनाए । उनले भने,‘संसदमा पनि यी विषयहरु उठेका छन् । हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यकत्ता छ ।’

महतले देशमा भएका तीन तहका सरकारबीच समन्वय र सहकार्य नभएको पनि गुनासो पोखे । उनले भने,‘अहिले देशभरि ७६१ सरकार छन् । तर, उनीहरुको बीचमा अधिकार र साधन स्रोतको बाँडफाँडको कारणले राम्रो सम्बन्ध छैन् । तीनै तहबीच अहिले प्रशस्त विवाद छन् । अधिकारको लागि तँछाडमछाँडको अवस्था छ । उनीहरुबीच अधिकार र शक्ति विभाजनको नाममा अहिलेपनि विवाद रहेको प्रष्ट छ ।’ संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय कानूनहरु अझैपनि संसदबाट पारित नभएको उनको अर्को गुनासो छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *