संघीय संसद्को बजेट अधिवेशन आजबाट, नीति तथा कार्यक्रम र बजेटको तयारीमा सरकार

Sharing is caring!

बैशाख १६, २०७६ । संघीय संसद्का दुवै सदनको चौथो अधिवेशन आज (सोमबार)बाट सुरु हुने भएको छ । गत ८ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौथो अधिवेशन सोमबारदेखि सुरु हुने आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिबाट आह्वान भएपछि बजेट अधिवेशनका रूपमा चल्ने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको दुवै सदनको बैठकमा सहभागी हुने सांसद राजधानी आइसकेका छन् । गत १० चैतमा तेस्रो अधिवेशन सकिएपछि सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या बुझ्न र आगामी वर्षका योजनाको विषयमा छलफल गर्न जिल्ला पुगेका थिए । राष्ट्रिपतिले अधिवेशन आह्वान गरेपछि संसद्मा राष्ट्रिय दलको मान्यता पाएका चार दलले आ–आफ्ना दलका दर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदलाई सहभागिताका लागि आह्वान गरेका थिए ।

नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले चौथो अधिवेशनका लागि प्राविधिकलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । राष्ट्रिय सभा र प्रतिनिधिसभाका मूल बैठक कक्षमा रहेका भौतिक पूर्वाधारको मर्मतसम्भारलगायत प्राविधिक तयारी पूरा भएको पनि उनले बताए । वर्षे अधिवेशनका रूपमा रहने यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गर्दछ । सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आगामी २० वैशाखमै प्रस्तुत गर्ने गरी तयारी गरिरहेको छ । संविधानमै व्यवस्था भएअनुरूप सरकारले वार्षिक बजेट १५ जेठमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । संसद्को सोमबार बस्ने पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आआफ्ना सदनसमक्ष वाचन गर्नेछन् । राष्ट्रपति भण्डारी गत ११ वैशाखदेखि ९ दिनका लागि चीन भ्रमणमा निस्कनुपर्ने भएपछि अधिवेशन चाँडो बोलाइएको हो । गत वर्ष सरकारले बजेट अधिवेशन ३१ वैशाखमा बोलाएर ७ जेठमा सरकारको नीति तथा कार्यक्रम ल्याएको थियो । यो वर्ष पनि १ जेठमै नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ । अधिवेशन सुरु भएको चौथो दिनमै सरकारको नीति तथा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । यसअघि गत ११ पुसदेखि सुरु भएको हिउँदे अधिवेशन १० चैतमा अन्त्य भएको थियो । सो क्रममा प्रतिनिधिसभातर्फ २३ वटा विधेयक दर्ता भएका थिए । त्यसमध्ये दुवै सदनबाट १३ विधेयक पारित भई प्रमाणीकरण भएका थिए । राष्ट्रियसभातर्फ ७ विधेयक दर्ता भई तीनवटा प्रमाणीकरण भएका थिए । प्रतिनिधिसभातर्फ १० विधेयक पारित हुन बाँकी छन् भने राष्ट्रिय सभामा दर्ता भएकामध्ये ४ विधेयक पारित हुन बाँकी छन् ।

बजेट अधिवेशनको तयारीसँगै बजेटमा आफ्ना योजना पार्न फाइल बोकेर सांसदहरु अर्थदेखि विभिन्न मन्त्रालय धाइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बजेटका सिद्धान्त र आधारबारे सांसदसँग सुझाव संकलन गरिरहेका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रधानमन्त्री ओलीले सबै प्रदेशका सांसदसँग छलफल गरेका छन् । बजेट अधिवेशनको क्रममा सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउनेछ । त्यसपछि संसद्मा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । सरकारका तर्फबाट आगामी वर्षका लागि १५ जेठमा बजेट मन्तव्य प्रस्तुत गरेपछि बजेटमाथिको छलफल हुनेछ ।यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *