विराटनगर आइपुगेको रेलको ईञ्जिनलाई भव्य स्वागत

Sharing is caring!

कात्तिक १९, २०७५ । लामो समयको प्रतिक्षापछि मोरङको विराटनगरसम्म रेलको ईञ्जिनबाट लिकको परीक्षण गरिएको छ । भारतीय पक्षले आइतवार विराटनगर १८ भेडियारीसम्म रेलको ईञ्जिन ल्याएर रेल्वे ट्रयाकको सफल परीक्षण गरेको हो ।

विराटनगर ल्याईएको उक्त रेलको ईञ्जिनलाई सर्वसाधारणले भव्य स्वागत गरेका छन् । भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमा रेलको ट्रयाक परीक्षणका क्रममा आइतबार रेलको ईञ्जिन आएको हो ।

रेल्वे ट्रयाक निर्माण कम्पनी इर्कनका पदाधिकारी र भारतीय रेल विभागका अधिकारी सवार ईञ्जिन भारतको बथनाहादेखि नेपालको कस्टम यार्डसम्म आएको हो । न्यू बिजी रेल लाइन प्रोजेक्ट अन्तर्गत उक्त ट्रयाक भारतीय निर्माण कम्पनी इर्कनले निर्माण गरेको हो । कम्पनीका प्रमुख अश्वीनीकुमारले नेपालले रेल लाइनमा पर्ने जग्गा हस्तान्तरण गरे अबको डेढ वर्षभित्र कटहरीसम्म रेल पुग्ने बताए ।

३ सय ७३ करोड भारतीय रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले हालसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले बताएको छ । भेडियारीसम्म रेलको नियमित सञ्चालनका लागि भने अझै ४५ दिन लाग्ने रेल्वे ट्रयाक निर्माण कम्पनी इर्कनका डेपुटी जनरल मेनेजर नगेन्द्र कुमारले बताए ।

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । नेपाल तर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण कामले गति लिन भने सकेको थिएन । रेल्वेको परीक्षण सफल भएपछि पहिलो चरणमा मालबाहक रेल नेपाल आउने छ । त्यसपछि सोही रेलमार्गमा थप लिक निर्माण भएपछि यात्रुबाहक रेल नेपालको कटहरीसम्म आउने छ ।

कोलकाताबाट नेपाल जोड्ने सिधा रेलमार्ग नहुँदा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योगी व्यवसायीलाई मालबाहक रेल सञ्चालनमा आएसँगै सामान आयातमा सहज हुने विराटनगर–१८ का वडा अध्यक्ष सञ्जय साहले बताए ।

नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले बेहोर्ने समझदारी भएको थियो ।

समझदारी अनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याउनु पर्ने भएपनि भारतको बथनाहादेखि नेपालको कटहरीसम्म (१८.६ किमि मध्ये) ८ किलोमिटरको काम पूरा भएको छ । बाँकी काम मुआब्जा विवादले अवरुद्ध छ । रेलमार्गलाई पूर्णता दिन समयमै मुआब्जा विवाद सल्टाउन सबैपक्ष गम्भिर हुर्नुपर्ने देखिन्छ ।यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *