लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष सार्वजनिक

Sharing is caring!

चैत ३०, २०७५ । सजिलो न्यूज एप्लिकेशनमार्फत लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष आज सार्वजनिक गरिएको छ ।

शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर उक्त अनलाईन शब्दकोषको सार्वजनिक गरिएको हो । भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चन, प्राज्ञ अमर तुम्याहाङ, प्रा. बालकृष्ण माबोहाङ र पत्रकार ऋषि धमलाले संयुक्त रुपमा उक्त शब्दकोष सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले लिम्बु भाषालाई संरक्षण गर्नको निमित्त राज्यले बहुभाषिक नीति लागु गरेको सुनाए ।

उनले भने,‘सरकारले अहिले सोहीअनुसार पाठ्यक्रम निर्माण गरिरहेको छ । राज्यले पर्याप्त स्रोत र साधनको अभावका कारण यसलाई अझै प्रभावकारी बनाउन सकिरहेको छन् । आगामी दिनमा प्रभावकारी बनाउँदै अघि बढ्छ ।’ सजिलो न्यूजमार्फत उक्त भाषाको अनलाईन सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे ।

शिक्षालाई प्रभावकारिता बनाउनको लागि मातृभाषा अनिवार्य आवश्यकत्ता भएको उल्लेख गर्दै उनले आगामी दिनमा राज्यले यसतर्फपनि ध्यान दिनुपर्ने सुझाए ।
त्यस्तै, कार्यक्रममा प्रा. बालकृष्ण माबोहाङले भाषालाई परिवारदेखि राज्यसम्म प्रयोगमा नल्याएसम्म यसको प्रभावकारिता नहुने स्पष्ट पारे । उनले भने,‘लिम्बु भाषालाई संरक्षण गर्ने हो भने आगामी दिनमा पनि यसलाई अझै प्रभावकारी रुपमा प्रयोगमा ल्याउनुपर्छ ।’

उनले लिम्बु भाषालाई सरकारी कामकाजको भाषामा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक एवम् किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष प्रेम येक्तेनले भाषा आयोग र अहिलेसम्म गठन भएका आदिवासीलगायतका आयोगहरुलाई असफल तुल्याउन वर्तमान सरकार लागिपरेको आरोप लगाए । उनले यसप्रति सबै सरोकारवाला पक्षले खबरदारी गर्नुपर्ने र आफ्नो अधिकार स्थापित गराउनुपर्नेमा जोड दिए ।

येक्तेनले प्रदेश नम्बर १ मा लिम्बु भाषालाई अनिवार्य रुपमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा पनि जोड दिए ।
उक्त शब्दकोषमार्फत लोप हुन लागेको लिम्बु भाषाको संरक्षण र प्रर्वद्धनमा मद्दत पुग्ने पनि सजिलो न्यूज एप्लिकेशनले विश्वास दिलाएको छ । सजिलो न्यूज प्रा.लीका अध्यक्ष सेरिहाङ लिङ्देनले यो शब्दकोषमार्फत लोप हुन लागेको लिम्बु भाषा प्रविधिको उच्चतम प्रयोगले संरक्षण तथा प्रर्वद्धनमा ठूलो योगदान पुगेको विश्वास दिलाए ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले लिम्बु भाषाको लागि लडेको संकल्प गरेको व्यक्तित्वहरुका लागि आजको दिन खुशीको दिन भएको प्रतिक्रिया दिए ।

उनले भने,‘यो भाषाको संरक्षण र प्रर्वद्धनको लागि महत्वपूर्ण योगदान पु¥याउनुहुने व्यक्तित्वहरु यहाँ देखेको छु । आज यहाँ जुन शब्दकोष सार्वजनिक गरिएको छ, हामीले गौरव गर्नुपर्छ । अबको जमाना भनेको सोसल मिडियाको हो । एप्स नै हो । तपाईहरुले एप्समार्फत तीन भाषामा यो अनलाईन शब्दकोष सार्वजनिक गर्नुभयो । यसले आउने पिढीहरुको लागि पनि महत्वपूर्ण हुनेछ ।’

मुलुकको विकास र समृद्धिमा लिम्बुहरुले ठूलो योगदान रहेको धमलाले विश्वास दिलाए । प्रदेश नम्बर १ को राजधानीको नामाकरण गर्दा लिम्बुको प्रतिनिधित्व हुनुपर्नेमा पनि उनले जोड दिए । उनले भने,‘मैले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाईपनि लिम्बुहरुको भाषा र समूदायलाई सम्मान हुनेगरि प्रदेशको नाम र राजधानी राख्नको लागि भूमिका खेल्न आग्रह गरेको थिएँ ।’

कार्यक्रममा सजिलो न्यूजका सल्लाहकारहरु टिमोटी टिमी, झरेन्द्र लिङ्देन, द हाईल्याण्ड आर्टका प्रमुख कल्पना योङहाङ र संघीय समाजवादी फोरम नेपालका युवा नेता सुवास लाबुङले उक्त शब्दकोष सार्वजनिक गरिएकोमा बधाई दिँदै शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *