रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग छैन: वनमन्त्री बस्नेत

Sharing is caring!

कात्तिक २२, २०७५ । वनमन्त्री शक्ति बहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने बताएका छन् । उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछिमात्रै रुख कटानको अनुमति दिने पनि स्पष्ट पारे ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । बस्नेतले विमानस्थल मुलुकको आवश्यकता भएपनि कमभन्दा कम वातावरणीय क्षतिमा निर्माण सक्नुपर्ने बताएका हुन् ।

उनले भने,‘वातावरण र विकासबीचको सन्तुलन मिलाएर मात्रै अगाडि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण छ ।’ रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग नभएको पनि उनले स्पष्ट पारे ।

मन्त्री बस्नेतले ‘हरियो बन, नेपालको धन’ भन्ने नारालाई सार्थकता तुल्याउनेगरि आफूले काम गरिरहेको पनि विश्वास दिलाए । उनले भने,‘हाम्रो देश भुगोल र जनसंख्याको दृष्टिकोणले मझौला खालको देश हो । तर, प्राकृतिक साधान र स्रोत, र जैविक विविधताको दृष्टिकोणले धनि छ । हामीले विगतमा बनलाई सेवा क्षेत्रको रुपमा लियौं । तर, हामीले अहिले उत्पादनशील क्षेत्रमा बदल्नेगरि काम गरिरहेका छौं ।’

नेपालका निकुञ्जहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनेगरि काम भैरहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘समग्र सबै क्षेत्रबाट काम भैरहेको छ ।’

उनले सरकार गठन भएको भर्खरै ७ महिना पूरा भएर यता आएको बताउँदै यो छोटो अवधिमै सरकारको समिक्षा गर्ने बेला नभएको पनि जिकिर गरे । ‘साँढे ३ सय कानुनहरु निर्माण गर्यौं । हामीले धेरै कामहरु गर्नुपर्नेछ । तर, अहिले नै मुल्यांकन गर्ने बेला भएको छैन । आवश्यक कामहरु भैरहेको छ । अब देखिनेगरि काम हुन्छन् ।’–उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *