केपी ओलीको विकल्प खोज्नेबारे अहिले सोच्नै सकिन्न: माधव नेपाल

Sharing is caring!

कात्तिक २१, २०७५ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न । यो सरकारले काम गरेर देखाउँछ । मैले प्रधानमन्त्रीसँग पटक–पटक कुरा गरेको छु । उहाँमा आत्मविश्वास छ । मसँग उहाँले कमिटमेन्ट गर्नुभएको छ । मैले भनेको छु, हामी छौं अरुको कमिकमजोरी आलोचना गर्न । तपाई ढुक्क भएर सरकार सञ्चालन गर्नुहोस् । यदि कमिकमजोरीहरु भएका छन् भनेपनि सुधार गरेर जानुपर्छ ।’

भ्रष्टाचार अन्त्य गर्ने कुरामा वर्तमान सरकार सफल हुनेपनि उनको दाबी छ । क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको पत्रकाहरुको देउसी टोलीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने,‘केपी ओलीको सरकार भनेको नेकपाको सरकार हो । कम्युनिष्ट पार्टीको सरकार हो । यसको अगुवाई ओलीजीले गर्नुभएको छ । यो सरकार असफल भयो भने सिँगो पार्टी असफल भएको देखिन्छ । यो सरकारसँग भीजन छ । संकल्प छ । यसले आफ्ना प्राथमिकताहरु निर्धारण गरेको छ । भएका साधन र स्रोतको उपयोग कसरी गर्ने भन्नेपनि प्रधानमन्त्रीजीसँग स्पष्ट सोच छ ।’

उनले प्रधानमन्त्रीले अब कर्मचारीतन्त्रलाई पनि त्यही ढंगले परिचालन गर्नुपर्ने धारणा राखे । उनले भने,‘मन्त्रीहरुलाई परिचालन गर्न पार्टी बलियो हुनुपर्छ । पार्टीले सबै ठाउँमा आफ्नो ध्यान दिनुपर्छ । आफ्नो पार्टीका गतिविधिहरुलाई निरिक्षण गर्नुपर्छ । अनुगमन गर्नुपर्छ । सरकारको कामपनि अनुगमन गर्नुपर्छ । निर्माण व्यवसायीहरुले काम गरिरहेका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्छ । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ ।’

अब देशमा विकास कसरी हुन्छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,‘विकास अहिले देशको आवश्यकत्ता हो । विकास देशको उन्नति र प्रगतिको लागि आवश्यक छ । राजनीतिक क्रान्ति भैसकेपछि अब विकासको लागि सम्पूर्ण ध्यान आर्थिक क्रान्ति, सामाजिक, साँस्कृतिक आर्थिक रुपान्तरणप्रति छ । सरकारले आफ्नो काम त्यहीअनुसार गरिरहेको छ ।’

विकास भनेको समष्टिगत विकास पनि भएको बताउँदै उनले भने,‘विकास र समृद्धिको लागि दुई वटा पूर्वाधारमा ध्यान दिनुपर्छ । एउटा मानवस्रोत । हामीले दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । अनि, दोस्रो भनेको भौतिक पूर्वाधार हो । बाटाघाटाहरु, विजुली चाहिन्छ । यो बीचमा अनेकन काममा सरकार जुट्नुपरेको थियो । विम्स्टेकजस्ता क्षेत्रिय फोरममा हामी जुट्यौं । संयुक्त राष्ट्रसंघमा उपस्थिति जनाऔं । अब विकास तथा निर्माणका कामहरु द्रुत गतिमा अघि बढ्छन् ।’

गाउँदेखि केन्द्रसम्म एकतामा अन्यौलता देखिएको छ नि ? भनेर धमलाले तेर्साएको अर्को प्रश्नमा उनले भने,‘यही महिनामा एकता सम्पन्न गर्ने योजना थियो । तर, प्रधानमन्त्रीजी विरामी हुनुभयो । उहाँ स्वस्थ भएर आएपछि सबै कुरा टुँगो लाग्छ । गाउँदेखि केन्द्रसम्मको एकता टुँगो लगाउँछौं । जनवर्गीय संगठनको एकतापनि टुँगो लगाउनुपर्छ ।’

स्थायी समिति बैठक बस्न नसक्नुमा पनि प्रधानमन्त्रीको अस्वस्थता नै कारण रहेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘सचिवालय र स्थायी समिति बैठक बस्ने योजना थियो । तर, उहाँ (प्रम) एक्कासी विरामी हुनुभयो, अब उहाँ आरामपछि फिट भएर आएपछि बैठक बस्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *