राष्ट्र बैंकले माग्यो क्रश होल्डिङको विवरण

Sharing is caring!

साउन १७, २०७६ । मर्जरका लागि बैंक तथा वित्तीय संस्थालाई नैतिक दबाब दिँंदै आएको नेपाल राष्ट्र बैंकले बाध्यात्मक (फोर्स) मर्जरका बारे गृहकार्य शुरू गरेको संकेत दिएको छ । क्रश होल्डिङ (एउटै व्यक्तिको एकभन्दा बढी संस्थामा लगानी) भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लानका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट शून्य दशमलव १ प्रतिशत शेयर स्वामित्व भएकाको विवरण संकलनको गृहकार्यमा केन्द्रीय बैंक जुटेको हो ।

बिहीवार राजधानीमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव विषयक कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले क्रश होल्डिङ भएका बैंकहरूको विवरण बुझाउन बैंकहरूलाई पत्र काटेको बताए । उनका अनुसार राष्ट्र बैंकले एक बैंकमा लगानी भएको व्यक्तिको अर्को बैंकमा कति लगानी छ भन्ने पत्ता लगाउन बिहीवार नै पत्राचार गरेको छ ।

यसैबारेमा जोड दिँदै डेपुटी गभर्नर सिवाकोटीले अब एकाघरका लगानीकर्ताको शेयर स्वामित्वको अंश हेरिने बताए । उनका अनुसार कसको कत्ति शेयर दोहोरिन्छ, त्यही क्रस होल्डिङका आधारमा बैंकलाई मर्जरमा जान दबाब दिइनेछ । ‘सबै बैंक तथा वित्तीय संस्थाको क्रश होल्डिङको विवरणलाई तालिका बनाएर हेर्छौं । बैंकहरूको क्रश होल्डिङको अवस्था १, २ वा ३ प्रतिशत कतिमा राख्दा हुन्छ त्यही आधारमा निर्णय गर्छौं,’ उनले भने ।

सम्पूर्ण बैंकको यस्तो विवरण आएपछि एकाघरभित्र निश्चित परिमाणभन्दा बढीको क्रस होल्डिङ भएकाहरूलाई मर्जरमा जानैपर्ने निर्देशन दिनका लागि राष्ट्र बैंकले निर्देशिका बनाउने सिवाकोटीले बताए ।

यसअघि डेपुटी गभर्नर सिवाकोटीले आर्थिक अभियानसँगको कुराकानीमा नयाँ मौद्रिक नीतिले मर्जरका लागि दिएको सहुलियत उपयोग गर्दै बैंकहरू मर्जरमा लागेनन् भने बाध्यात्मक मर्जरमा लैजाने बताएका थिए । बिहीवार पनि उनले मर्जरलाई प्रोत्साहन दिँदा बैंकहरू स्वैच्छिक रूपमा जान अटेर गरे भने दबाब दिएर मर्जर गर्ने कुरा दोहो¥याए । सिवाकोटीले भने, ‘हामी मर्जरको नीतिबाट पछाडि हटेका छैनौं । भोलिका दिनमा फोर्स मर्जर हुनसक्छ ।’यो खबर आर्थिक अभियानबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *