राष्ट्रपतिको भूमिका निश्पक्ष भएन, राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ: अध्यक्ष जबरा

Sharing is caring!

साउन २५, २०७६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको औंल्याए । उनले भने,‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन् ।’

अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए । उनले भने,‘राष्ट्रपतिले आफ्नो सोख पुरा गर्नको लागि अहिले पोलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो ।’

उनले निश्पक्ष र कुनैपनि पार्टीमा आवद्ध नभएकोले राजसंस्थाजस्तो पूरानो संस्थालेमात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने पनि विश्वास दिलाए । उनले भने,‘हामीले त राजसंस्थासहितको प्रजातन्त्र भनेका छौं । यसमा बहस पैरवी हुनुपर्छ ।’ उनले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने प्रकृतिको मुलुकलाई धर्मनिरपेक्षता बनाएकोमा आक्रोश पोखे । उनले भने,‘अब यो देशलाई हिन्दूराष्ट्र बनाउन अत्यावश्यक छ । हामीले संविधान जारी गर्दा पनि यो कुरा जोडदार रुपमा उठाएका थियौं ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीको बारेमा सोधिएको प्रश्नमा उनले भने,‘प्रचण्डजीले जे बोल्नुभएको छ, यो उहाँको स्वतन्त्रताको कुरा हो । कसैले पनि बोल्नलाई रोक्न सक्दैन् । तर, धम्की नै दिएर यो गर, उ नगर भनेर भन्नु चाहीँ हुँदैन् । राजाले म फर्किन्छु भनेर हिँडेको छैन् । उहाँले भाषण गरेको छैन् । उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यो कुन ठूलो अपराध हो ।’ पूर्वराजासँग ओली र प्रचण्ड तर्सिएका हुन त ? भनेर सोधिएको अर्को प्रश्नमा उनले प्रष्ट्याए,‘उहाँहरु किन तर्सिनुहुन्छ, त्यो त उहाँहरुले जान्ने कुरा हो । मैले कसरी विश्लेषण गर्नु ?’

अध्यक्ष जबराले आफूहरु र राप्रपाबीच एकताको लागि वार्तालापको अवस्थामा भने पुगि नसकेको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीको उच्च कार्यसम्पादन समितिको बैठक बसेको छ, विचार मिल्ने दल, समूह र व्यक्तिहरुसँग मिलेर जाने निर्णय भएको छ । र, त्यहीअनुसार हामीले आह्वान गरेका छौं ।’

उनले वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकारसँग काम गर्नको लागि सुवर्ण अवसर भएपनि यसले मौका खेर फालेको आरोप लगाए । उनले भने,‘यो सरकारले जनताको आशालाई पूरै निराशामा परिणत गरेको छ । सरकार अत्यन्तै भ्रष्ट भयो ।’ सरकारले कुनैपनि उल्लेखनीय काम गर्न नसकेको पनि उनले आरोप लगाए । सरकार गठन भएको १८ महिना बितिसक्दापनि परीणाम भने शुन्य आएको जबराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *