मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्धय घिमिरे र जोशीलाई

Sharing is caring!

चैत १६, २०७५ । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार रिपब्लिका अंग्रेजी दैनिकका प्रधान–सम्पादक सुवास घिमिरे र बरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

राजधानी र मोफसलका बरिष्ठ पत्रकारहरुलाई दिँदै आईरहेको उक्त पुरस्कार यो वर्ष राजधानीतर्फबाट घिमिरेलाई र मोफसलबाट जोशीलाई प्रदान गरिने भएको हो । यो पुरस्कारको राशि एक लाख रहेको छ । घिमिरे र जोशीलाई जनही ५०-५० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

शनिबार अपरान्ह क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बसेको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । घिमिरे लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । छोटो समयमा अंग्रेजी पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रर्दशन गर्दै घिमिरेले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

जोशी श्री सार्थक साप्ताहिकका प्रधान–सम्पादक हुन् । उनी तीन दशकभन्दा बढि समयदेखि मोफसलको पत्रकारितामा सक्रिय छन् ।

नेपाली राजनीतिका चर्चित हस्ती, जननेता, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरिएको हो ।

यो वर्षको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक बरिष्ठ उप–सम्पादक राजेश मिश्रलाई दिने भएको छ । मिश्रलाई प्रदान गरिने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । मिश्र डेढ दशकभन्दा बढिदेखि पत्रकारितामा सक्रिय छन् ।

यसैगरि कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष एवम् प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ । दाहाल झिल्को डटकममा समेत आवद्ध छन् । उनलाई दिईने उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । दाहाल लामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।

यसैगरी यस वर्षको शहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कार पत्रकार डिल्ली बसेललाई प्रदान गर्ने निर्णय गरेको छ । बसेल ईमेज च्यानल टेलिभिजनका समाचार सम्पादक हुन् । दुई दशकभन्दा बढिदेखि पत्रकारितामा सक्रिय बसेललाई दिईने उक्त पुरस्कारको राशि २५ हजार रहेको छ ।

यसैगरि यो वर्षको रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पत्रकार सन्तोष न्यौपानेलाई प्रदान गरिने भएको छ । नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोता र उत्पादकको रुपमा कार्यरत पत्रकार न्यौपानेलाई प्रदान गरिने यो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । न्यौपाने लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

यो वर्षको क्रियाशिल युवा पत्रकारिता पुरस्कार–२०७५ राजधानी दैनिकका समाचार सम्पादक ध्रुव लम्साललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । लम्साल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

त्यसैगरि यो वर्षको क्रियाशिल महिला पत्रकारिता पुरस्कार पत्रकार उषाकिरण कँडेललाई प्रदान गरिने भएको छ । मोफसलबाट पत्रकारिता यात्राको सुरुवात गरेकी कँडेल हाल नेपाली रेडियो नेटवर्कमा कार्यरत छिन् । उनलाई दिईने उक्त पुरस्कारको राशि १० हजार रहेको छ ।

यी पुरस्कार यही चैत्र १७ गते आईतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित् राष्ट्रिय सभागृहमा आयोजना गरिने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *