‘भाइरस’ प्रयोग गरी एटीएम ह्याक

Sharing is caring!

भदौ १६, २०७६ । भाइरसद्वारा सिस्टम ह्याक गरी चिनियाँ ह्याकरले करोडौं रुपैयाँ चोरी गरेका छन्। ‘भाइरस प्रयोगबाट एटीएम मेसिनको सिस्टम ह्याक गरी पैसा चोरी गरिएको हो’, प्रहरी परिसर टेकुमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने। उनले एटीएमको सफ्टवेयरमध्ये एउटा ह्याक भएको जानकारी दिए।

चिनियाँ ह्याकरले नेपाल प्रवेश गरेको दुई दिनभित्रै एटीएम ह्याक गरी करिब साढे ३ करोड रुपैयाँ रकम चोरी गरेका थिए। प्रहरीले एटीएम बुथबाट निकालेकोे रकमसहित ५ ह्याकरलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आफूलाई प्रभु बैंकका अपरेसन म्यानेजरले आफ्ना केही एटीएमबाट कसैले अस्वाभाविक रुपमा पैसा निकालिरहेको जानकारी दिएपछि ह्याकरलाई तत्कालै पक्राउ गर्न सफल भएको बताए। ‘सूचना पाउने बित्तिकै मैले सम्बन्धित वृत्तलाई जानकारी गराएँ। सूचनाको वजनलाई ध्यान दिँदै म आफैं पनि कार्यालयबाट निस्किएँ,’ उनले थपे, ‘थोरै मात्र ढिला गरेको भए हामी चुक्थ्यौं। त्यसैले हामी चनाखो भएका थियौं।’

डीएसपी बोगटी आफ्नो टोलीसहित कमलादी नजिकै पुगेका बेला दरबारमार्ग वृत्तको टोली पनि त्यहाँ पुगिसकेको थियो। शंकास्पद भनिएको नबिल बैंकको एटीएममा पुग्दा प्रहरीले त्यहाँ चु ल्याङआङ नामक चिनियाँ नागरिक फेला पारेको थियो।

‘एक मिनेट ढिलो भएको भए वा ल्याङआङलाई पक्राउ गर्न नसकेको भए हामीलाई अपराधीसम्म पुग्न यति सहज हुने थिएन’, डीएसपी बोगटीले भने, ‘उनलाई पक्राउ गर्न सफल भएकै कारण हामी अरु ४ अपराधीसम्म पुग्यौं।’

४५ लाख नेपाली रुपैयाँसहित पक्राउ परेका ल्याङआङले सोधपुछ गर्दा बोल्न मानेनन्। उनका साथबाट प्रहरीले हात्तिसारस्थित माया मनोर बुटिक होटलको चाबी फेला परेको थियो। प्रहरीको टोली माया मनोर बुटिक होटल पुग्दा अन्य ४ जना चिनियाँ नागरिक झोला बोकेर बाहिर निस्किन थालेका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो। प्रहरीले उनीहरू बसिरहेको कोठा २०१, ६०२ र ६०४ मा लगेर सोधपुछ गर्‍यो।

‘एटीएमबाट लिएका पैसा उनीहरूले पालैपालो होटलको कोठा ओसार्ने गरेका रहेछन्, त्यसैले सुरुमै पक्राउ परेका ल्याङआङको साथबाट हामीले ४५ लाख मात्र बरामद गर्‍यौं‍’, बोगटीले भने, ‘जब होटलमा पुगेर भाग्न थालेको अवस्थामा थप ४ जना पक्राउ ग‍र्‍यौं त्यसपछि हामीले उनीहरूले गरेको अपराधको बृहत् रुप देख्यौं।’

प्रहरीले लिन च्यानमङ, ल्यो च्याले, चु ल्याङआङ, छिउ युनछिङ, छन पिनपिनको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार कम्बोडियाली मुद्रा र ८० हङकङ डलर बरामद गरेको छ।

उनीहरूका साथबाट १ सय ३२ नक्कली भिसा कार्ड, १७ सक्कली भिसा कार्ड, एउटा कार्ड प्रिन्टर मेसिन, ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ। उनीहरूले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकका विभिन्न एटीएम बुथबाट पैसा निकालेको पाइएको छ। तर, कार्ड भने प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आईएमई, सनराइज बैंकको प्रयोग भएको प्रहरीले जनाएको छ। शनिबार ५ घण्टासम्म ह्याकरले पैसा झिकेका थिए। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *