नेप्सेको अनलाइन प्रणाली ब्रोकरलाई बोझ

Sharing is caring!

असार ६, २०७५ । धितोपत्र बजारमा सुरु भएको अनलाइन कारोबार प्रणाली धितोपत्र दलाल कम्पनीलाइ नै बोझ बन्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधिक पूर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो ।
हाल २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोही अनुपातमा अनलाइन कारोबार प्रणालीका लागि लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको छ । नेप्सेले एक महिनामा चुक्ता पुँजी बरावरको लगानी गरी पूवार्धार तयार गर्न भनेपछि धितोपत्र दलाल कम्पनी भने अन्योलमा छन् । साउन १ गतेदेखि लाइभ कारोबार प्रणालीमा जान पनि नेप्सेको कारोबार प्रणालीअनुसार धितोपत्र दलाल कम्पनीले यो अवधिमा तोकिएको पूर्वाधार तयार गर्नुपर्छ । तर, नेप्से लाइभमा भए पनि धितोपत्र दलाल कम्पनीलाई थपेको लगानी बोझका कारण तत्काल लगानीकर्ता भने अनलाइन कारोबार सुविधा पाउनेमा द्विविधा उत्पन्न भएको छ ।
नेप्सेले कारोबार प्रणाली सुरु गरेको करिब ३ वर्षको अवधिमा केही नभनी अन्तिम समयमा ठूलो लगानी गरेर पूर्वाधार तयार गर्न लगाएको नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतिले बताए । नेप्सेले तोकेको प्रविधिक पूर्वाधार तयार गर्दा डेढदेखि २ करोडसम्म लगानी गर्नुपर्ने देखिन्छ । “अनलाइन कारोबार प्रणालीका लागि ब्रोकरले गर्नुपर्ने कामको सन्दर्भमा बारम्बार सोध्दा केही नपर्ने भन्ने, ब्रोकरको पूर्वाधारको विषयमा नेप्सेलाई अहिलेमात्र थाहा भएको त होइन होला ?” ब्रोकर कम्पनीको पुँजी जती नै लगानी थप्नुपर्दा समय दिनुपर्ने सिँजापतिको भनाइ छ । नेप्सेले व्यावसाय गर्ने भए किन् नत्र नकिन् भन्ने तर्क गर्न नहुने तर्क गर्दै उनले भने, “हार्डवेयर, सफ्टवेयर र कर्मचारी एक महिनामा कसरी सम्भव हुन्छ ?” नेप्सेले दिएको निर्देशनबारे आफू अनविज्ञ रहेको सिँजापतिले बताए ।
नेप्सेले धितोपत्र दलाल कम्पनीलाई के गर्न खोजेको भन्ने आफूले नबुझेको अर्का एक धितोपत्र दलाल व्यवसायीले बताए । “नेप्सेले १० करोडको कारोबार प्रणाली सञ्चालन गर्न ३ वर्ष लगायो,” ति व्यवसायीले भने, “हाम्रो कम्पनीको चुक्ता पुँजी बराबरको लगानी थप्नका लागि एक महिनाको अवधिमात्र किन ?” नेप्सेले भनेअनुसारको पूर्वाधार तयार गर्न बजारमा बुझ्दा डेढदेखि २ करोडसम्म लाग्ने ति व्यवसायीले बताए । नेप्सेले अनलाइन कारोबार प्रणाली ढिला हुने भए पनि धितोपत्र दलाल कम्पनीलाइ दोष देखाउन एकैपटक ठूलो बोझ थपिदिन खोजेको समेत ति व्यवसायीको जिकिर छ ।
धितोपत्र दलाल कम्पनीलाई नेप्सेको तोकेको हार्डवेयर, सफ्टवेयर तथा कर्मचारीको सन्दर्भमा ब्रोकरसँग छलफल भइरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । बजार विकासका लागि सबै मिलेर काम गर्नुपर्ने उल्लेख गर्दै साउदले भने, “व्यापार गर्छु भन्नेले पूर्वाधार तयार नगर्ने भन्ने हँुदैन ।” धितोपत्र दलाल कम्पनीले तयार गर्नुपर्ने पूर्वाधारका कारणले लाइभ कारोबार प्रणाली ढिला नहुने साउदले बताए । ब्रोकर कम्पनीलाई सहज हुने गरी समाधानका लागि छलफलसमेत भइरहेको उनले बताए । ब्रोकर कम्पनीहरू मिलेर गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी साउदले दिए । साउनदेखि केही समयका लागि अनलाइन कारोबार प्रणाली र हालको कारोबार प्रणाली दुवै सञ्चालन हुने उनले बताए ।यो खबर आजको कारोबारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *