बन्ने भयो धरहरा, लागत तीन अर्ब ४५ करोड रुपैयाँ

Sharing is caring!

भदौ १८, २०७५ । धरहरा निर्माणको ठेक्का जिआइइटीसी/रमन जेभीले पाएको छ । राष्ट्रिय पुन: निर्माण प्राधिकरणले आइतबार खोलेको आर्थिक प्रस्तावमा उक्त कम्पनीले सबै भन्दा कम रकम कवोलेकोले छानिएको हो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्नेछ ।

पुनः निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना गत वैशाख ३१ मा प्रकाशन गरेको थियो। प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो। पाँच वटा निर्माण कम्पनीको आर्थिक प्रस्ताव खोल्ने कार्य पटक पटक स्थागित हुँदै आएको थियो।

प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने कार्य स्थगित हुने गरेको थियो।

प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइक/लामा जेभी, सिआर ५ सिइसी/स्वच्छन्द जेभी, कुमार/सिएफइसी जेभी, जिआइइटीसी/रमन जेभी, सिआइसिओ/कालिका/रसुवा जेभी छन्। जेसिजिआइसिसी/आशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको थियो।

भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्ष अघिको भूकम्पसहित चार पटक ढलिसकेको छ। धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ। यसअघिको धरहरा नौ तलाको थियो।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने छ। अब बन्ने धरहरामा लिफ्ट र भर्याङसमेत राखिनेछ। धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ। भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ।

निर्माणको लागत रु चार अर्ब लाग्ने लागत स्टिमेट तयार भएको छ। यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो। टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।यो खबर आजको कान्तिपुरमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *