नेपाल भ्रमण वर्ष–२०२० को भव्य शुभारम्भ हुन्छ: पर्यटनमन्त्री भट्टराई

Sharing is caring!

मंसिर ६, २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने विश्वास दिलाएका छन् । सोहीअनुसार आफूहरुले तयारी गरेकोपनि उनले स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले भ्रमण वर्ष सफल बनाउनेगरि कार्यक्रम सञ्चालन गरिरहेको सुनाए । उनले विगतमा ५-६ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाई भएपनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको स्पष्ट पारे । उनले भने,‘म आएपछि भ्रमण वर्ष सफल तुल्याउनको लगातार छलफल गरेको छु, यससँग सरोकारवालाहरुसँग पनि धेरै पटक छलफल तथा अन्तरक्रिया गरेको छु ।’

उनले भ्रमण वर्षको लागि आवश्यक बजेटको पनि प्रवन्ध गरिएको स्पष्ट पारे । अघिल्लो आर्थिक वर्षमा भ्रमण वर्षको लागि दश करोड बजेटमात्रै छुट्याईएको यो वर्ष १५ करोड बजेट छुट्याईएको उनले सुनाए । उनले भने,‘भ्रमण वर्षको लागि २५ करोड बजेट भनेको न्यून हो, अहिले हामीले ६५ करोडको बजेट पास गरेका छौं ।’

उनले पर्यटन वर्षको प्रचारको लागि पनि सरकारले विशेष ध्यान दिएको सुनाए । सन् २०२० को जनवरी १ तारिखमा भ्रमण वर्षको भव्य शुभारम्भ हुने उनको भनाई छ । उनले भने,‘यो कार्यक्रम देशभरि नै एकसाथ सुरु हुनेछ । काठमाडौंमा हामीले केही दिनभित्रै ठाउँ घोषणा गर्छौं । दशरथ रंगशाला, सैनिक मञ्चलगायत कहाँ हुन्छ, हामी तोक्छौं ।’ भ्रमण वर्षको शुभारम्भमा पचासौं हजार जनसहभागिता रहनेपनि उनले विश्वास दिलाए ।

त्यस्तै, उनले भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढि देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिईसकेको पनि जनाए । उनले भने,‘हामीले नेपाल घुम्न आउने पर्यटकहरुको आधारमा मैले ४० देशका पर्यटकमन्त्रीहरुलाई निम्तो पठाएको छु ।’ भट्टराईले सोही सन्दर्भ पारेर नेपालमा टुरिज्म मिनिष्ट्री कन्क्लेभ पनि आयोजना गरिने जानकारी दिए । ‘यो कन्क्लेभ ऐतिहाँसिक हुनेछ ।’–उनले भने ।

भ्रमण वर्ष सफल तुल्याउनको लागि पर्यटन प्रर्वद्धन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ, संस्था, विभिन्न चर्चित अन्तर्राष्ट्रिय व्यक्तित्वहरु (कलाकार, खेलाडी) लाई पनि नेपाल भ्रमणको लागि आमन्त्रण गरिएको उनले सुनाए । उनले भने,‘हामीले विश्वमै चर्चित व्यक्तित्वहरुलाई प्रचासप्रसारको लागि पनि सद्भावना दुत बनाएका छौं । उहाँहरुबाट सहयोग लिने क्रम जारी छ ।’

त्यस्तै, विदेशमा रहेका नेपाली कुटनीतिक नियोग, संघ संस्थाहरुलाई पनि नेपाल भ्रमण वर्षको कार्यक्रम गर्न निर्देशन गरिएको उनले सुनाए । उनले भने,‘नेपालको प्रतिनिधित्व गर्ने विभिन्न कुटनीतिक नियोगहरुलाई हामीले नेपाल भ्रमण वर्षको भव्य उद्धघाट्न गर्न निर्देशन दिएका छौं । हाम्रा विदेशस्थित् नियोगहरुले जनवरी ७ तारिखमा कार्यक्रम गर्नेछन् ।’

प्रत्येक देशबाट ठूलो संख्यामा नेपाल भ्रमणको लागि पर्यटकहरु पठाउनको लागि पनि आफूहरुले परराष्ट्र मन्त्रालयको सहयोगमा निर्देशन दिईसकेको उनको भनाई छ । उनले भने,‘अब पर्यटन, विकास र आर्थिक कुटनीतिलाई बढावा दिनुपर्छ । नेपालमा लगानी भित्र्याउनको लागि विदेशमा रहेका हाम्रा नेपाली राजदुतहरुले विशेष भूमिका खेल्नुपर्छ । कुन देशबाट नेपाल भ्रमणमा बढि पर्यटकहरु आउनुहुन्छ, त्यो हेरेर हामी ती देशमा रहेका हाम्रो राजदुतहरुलाई पुस्कृत पनि गर्छौं ।’

विश्वका प्रमुख शहरहरुमा यतिवेला नेपाल भ्रमण वर्षको प्रचारप्रसार तिव्र भइरहेको उनले जनाए । उनले भने,‘विदेशमा रहेका गैरआवासी नेपालीहरुले पनि यसको प्रचारप्रसारको लागि विशेष भूमिका निर्वाह गरिरहनुभएको छ । नेपाल भ्रमणमा सबैभन्दा बढि आउने विश्वका दश शहरलाई हामीले सेलेक्ट गरेका छौं । त्यहीअनुसार प्रचासरप्रसारको लागि फोकश गरेका छौं ।’ नेपाल भ्रमण वर्षको प्रचारप्रसारको लागि अन्तर्राष्ट्रिय मिडियालाई पनि उपयोग गर्ने उनको भनाई छ ।

नेपाल भ्रमण वर्षमा संस्कृति तथा प्रकृति दुवैको प्रर्वद्धन हुने र सोहीअनुसार आफूहरुले काम गरिरहेको उनले स्पष्ट पारे । उनले भने,‘ भ्रमण वर्षलाई लक्षित गरेर नेपाल सरकारले आकर्षक छुट दिने तयारी गरेको छ । हिमाललाई चढ्नको लागि पनि सुविधा दिने स्किम बनाउँदैछौं । माथिल्लो हिमाली भेगमा जानको लागि पैसा लाग्दथ्यो, त्यसमा पनि छुट दिने तयारी गरेका छौं । भिसा लगाउने कुरामा केही छुट हुन्छ ।’ आफूले यसको लागि केही दिनभित्रै यो प्रस्ताव मन्त्रिपरिषदको बैठकमा लैजान लागेको र उक्त प्रस्ताव पारित हुनेपनि भट्टराईले विश्वास दिलाए ।
मन्त्री भट्टराईले केही नयाँ हिमालहरुलाई पनि आरोहणको लागि (खुल्ला) गर्न लागिएको बताए । उनले भने,‘हामी केही हिमाल आरोहणको लागि खुल्ला गर्ने योजनामा छौं । काठमाडौं आउने पर्यटकहरु सगरमाथा, अन्नपूर्ण, पोखरा, सौराह यही चल्तीका पर्यटक गन्तव्य जानुहुन्छ । हाम्रो जोड यसपटक नयाँ पर्यटक गन्तव्यलाई प्रचार गर्नेतर्फ छ । जुन गन्तव्य भर्जिन छन् । प्राकृतिक रुपमा अत्यन्तै सौन्दर्य छन्, ती गन्तव्यहरुको प्रचारप्रसार गर्नेतर्फ पनि छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *