नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली

Sharing is caring!

वैशाख ३०, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उहाँले भन्नुभयो, “ दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने वातावरण बनेको छ ।”

राष्ट्रहितलाई शिरोधार्य गरी मनमा राखिएको छ, कहीँ कतै छोडिएको छैन भन्दै उहाँले देश र जनताको शिर निहुरिन दिने र कमजोर पार्ने काम नभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेभन्दा तीन वर्षअघि नेपाल र भारतबीचको सम्बन्ध तनावको अवस्थामा थियो, त्यो स्थितिबाट नाकाबन्दीको स्थितिमा गयो, नाकाबन्दीपछि कम्तीमा आज हामी यो स्थितिमा पुगेका छाँै । हामी छिमेकीसँग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गर्छांै । हामी दुश्मनी कसैसँग चाहँदैनौँ, मित्रता चाहन्छौँ, कसैसँग शत्रुता, वैरभावको होइन, मित्रताको सम्बन्ध चाहन्छौँ ।”

दुई देशबीचको सम्बन्ध बराबरीका आधार हुने तथा आवश्यकता र प्राथमिकताका आधारमा समान व्यवहार हुने बताउँदै उहाँले भारतका प्रधानमन्त्री मोदीको वक्तव्यमा नेपालको सार्वभौमसत्ता र अखण्डताका विषय खुलस्त प्रकट भएको उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला भएका छलफल र सहमति दुवै देशको स्वाभिमान र साझा लाभका विषय भएकाले तत्कालै अघि बढाइने बताउँदै उहाँले भन्नुभयो, “ढुक्क भए हुन्छ, सबै सहमति पारदर्शी छन्, कुनै विषयमा तलमाथि भएको छैन, त्यसको जिम्मेवारी म लिन्छु ।”

प्रधानमन्त्रीले एउटै पनि शब्द, काम र व्यवहार राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रश्नमा कमजोर हुन नदिएको तथा राष्ट्रिय हित विपरीत नरहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *