नेकपाद्वारा अन्तरपार्टी निर्देशन जारी

Sharing is caring!

जेठ १७, २०७५ । एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ ।

जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएकाले अब पार्टी एकताका बाँकी कार्यभार पूरा गर्न उहाँहरुले अन्तरपार्टी निर्देशनमार्फत आह्वान गर्नुभएको हो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यही जेठ ३ गते एकता भई निर्वाचन आयोगमा दल दर्ता भएको थियो । पार्टीका केन्द्रीय सदस्य खिमलाल देवकाटाले नेकपाले निर्वाचन आयोगमा बुझाउनुपर्ने सबैजसो कागजात पेश गरिसकेकाले चाँडै आयोगबाट दल दर्ताको निर्णय आउने अपेक्षा गरिएको र अन्य सांगठनिक कार्य शुरु भएको बताउनुभयो ।

दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछिको ऐतिहासिक कार्यभार, मातहतका कमिटीको एकता, ४४१ केन्द्रीय सदस्य, ४५ सदस्यीय स्थायी कमिटी र नौ सदस्यीय सचिवालयको विवरणसहित भावी कार्यदिशाबारे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरमा सो अन्तरपार्टी निर्देशन–१ जारी भएको हो ।

कम्युनिष्ट पार्टीहरुमा अन्तरपार्टी निर्देशनलाई पार्टीको आधिकारिक निर्णयहरुबारे वैधानिकरुपमा जानकारी र निर्देशन दिने तथा कार्यान्वयनमा एकरुपता ल्याउने सांगठनिक दस्तावेज मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *