धनशक्ति र जनशक्तिको अभावमा पनि हामीले उल्लेख्य उपलब्धि हाँसिल गरेका छौं: मन्त्री सोनल

Sharing is caring!

पुस १, २०७६ । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले धनशक्ति र जनशक्तिको अभावमा पनि आफूहरुले उल्लेख्य उपलब्धि हाँसिल गरेको दाबी गरेका छन् । उनले भने,‘प्रतिकुल अवस्थामा पनि हामीले तदारुकताका साथ काम गरेर उल्लेख्य उपलब्धि हाँसिल गरेका छौं । चौतर्फी कामहरु भैरहेका छन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री सोनलले सिमित स्रोत र साधनको बावजुदपनि प्रदेश नम्बर २ को सरकारले राम्रो काम गरेको स्पष्ट पारेका हुन् । उनले भने,‘हामीसँग लिमिमेट रिसोर्स छन् । हामीसँग न्यूनतम बजेटपनि छैन् । केन्द्र सरकारलाई हामी आग्रह गरिरहेका छौं । केन्द्रले पनि हामीसँग समन्वय गरोस् । हाम्रा सम्भावनाहरुमा केन्द्रले प्रचुर लगानी गरोस् ।’

साक्षात्कारमा बोल्दै उनले काम गर्नको लागि आवश्यक जनशक्तिको पनि अभाव रहेको गुनासो पोखे । उनले भने,‘हाम्रो प्रदेशमा जम्मा ५ हजार कर्मचारी आवश्यक भएकोमा अहिलेसम्म तीन हजार कर्मचारी संघले पठाएको भन्छ, तर, हामीसँग अहिलेसम्म २ हजार कर्मचारीमात्रै पुगेका छन् ।’

मन्त्री सोनलले २ नम्बर प्रदेशमा अहिलेसम्म ६०–७० प्रतिशत मात्रै कर्मचारी पुगेको स्पष्ट पारे । उनले भने,‘कतिपय कार्यालयहरुमा कर्मचारीको रिक्तता छ । हामीसँग म्यानपावर पातलो छ । अझै कार्यालयमा सचिवहरु छैनन् ।’

अहिलेपनि पूर्वाधार विकास कार्यालयको अभाव रहेको उनले सुनाए । उनले भने,‘२ नम्बर प्रदेशमा ८ वटा जिल्ला छन्, हामीसँग अहिलेसम्म चार वटामात्रै पूर्वाधार विकास कार्यालय छन् । एउटा जिल्लामा एउटा पूर्वाधार विकासको कार्यालय हुनुपर्छ ।’

उनले प्रदेश नम्बर २ को सरकार प्राथमिकीकरण तय गरेर नै अघि बढिरहेको स्पष्ट पारे । उनले भने,‘हामी आफैंले तय गरेका प्राथमिकीकरणलाई सम्बोधन गर्ने हिसाबले अघि बढिरहेका छौं । विकास निर्माणका काम द्रुत गतिमा अघि बढाएका छौं । रोड कनेक्टिभिटीमा जोड दिएका छौं । सामान्य जनताको पहुँमा बाटोघाटो पुर्याउने लक्ष्यसहित काम गरिरहेका छौं ।’

उनले रोड कनेक्टिभिटीअन्तर्गत पालिकादेखि पालिकासम्म सडकको पहुँच बनाउने, पालिकादेखि सदरमुकामसम्म र ती बाटाहरु राजमार्गसम्म जोड्नेगरि काम गरिएको स्पष्ट पारे । उनले भने,‘त्यसपछि प्रदेशको सदरमुकाम जोडुने बाटो बनाउँछौं ।’

जहाँ सडक त्यहाँ विकास भन्ने मान्यता रहेकोले आफूहरु पनि सोही भावनाका साथ अघि बढिरहेको उनको भनाई छ । नभएका ठाउँमा सडक बनाउने र भएका सडकहरुको स्तरोन्नती गर्नेगरि आफूहरुले काम गरिरहेको मन्त्री सोनलको भनाई छ ।

२ नम्बर प्रदेश कृषिमा आधारित प्रदेश भएकोले कृषिको उत्पादन बढाउनेगरि काम गरिरहेको उनले स्पष्ट पारे । उनले भने,‘२ नम्बर प्रदेशको कृषिको उत्पादनले यो प्रदेशमा मात्रै नभएर पुरै देशलाई धान्न सक्छ । तर, कृषिको प्रथम शर्त भनेको सिँचाई हो ।’ डिप बोरिङको माध्यमबाट पनि सिँचाई गरिने उनले जनाए ।

२ नम्बर प्रदेश पर्यटन हिसाबले पनि सवल र सम्भावना बोकेको प्रदशे भएको उल्लेख गर्दैै उनले धार्मिक पर्यटनलाई बढावा दिनेगरि काम गरिएको स्पष्ट पारे । उनले भने,‘जानकी मन्दिरको कुरा गर्नुहोस, बाराको गढीमाई, सप्तरीको सखडादेवी, सिरहाको सलहेश, महोत्तरीको परौल नै किन नहोस्, हामीसँग धार्मिक महत्व बोकेका पर्यटकीय स्थलहरु छन् ।’

पूर्वाधार विकासमात्रै नभएर उनले मानवीय विकासको लागि पनि प्रदेश सरकार प्रभावकारी रुपमा अघि बढिरहेको स्पष्ट पारे । उनले भने,‘महिलाहरुको शिक्षाको लागि पनि हामीले काम गरिरहेका छौं । मानव सूचांक विकासमा हाम्रो प्रदेशको अवस्था तल छ । यसको लागि शिक्षा, स्वास्थ्य र सामाजिक चेतना अभिवृद्धि गर्नुपर्छ । हामीले अहिले यसको लागि पनि अभियान बनाएर काम सुरु गरेका छौं । तराई मधेशमा दाईजो प्रथा छ । यसलाई हटाउनुपर्छ । अहिले हामीले बेटी बचाउ, बेटी पढाउन अभियानपनि चलाएका छौं ।’ उनले सामाजिक संघ–संस्थाहरुसँग मिलेर समाज व्याप्त सबैखाले कुरिती, अन्धविश्वास हटाउन लागिपरिरहेको बताए।

कृषि, भौतिक पूर्वाधार, धार्मिक पर्यटनको अलावा सोलार उर्जाको पनि आफ्नो प्रदेशमा प्रचुर सम्भावना रहेको उनले सुनाए । उनले भने,‘हामी अब २ सय मेगावाट सोलार ईनर्जी उत्पादन गर्ने तरखरमा छौं । यसको लागि विद्येयक मस्यौदा गरेर प्रदेश संसदमा पठाएका छौं । सोलार ईनर्जीको लागि लगानी गर्न भारतीय, चिनियाँ र युरोपियनहरु ईच्छुक छन् । अब २ नम्बर प्रदेश अब उज्यालो प्रदेशको रुपमा विकास हुँदैछ ।’
कानून निर्माणको मामिलामा पनि २ नम्बर प्रदेश सबैभन्दा अगाडि रहेको पनि उनले दाबी गरे । उनले भने,‘हामीले लोकसेवाको ऐन बनायौं, सडक ऐन बनायौं । करार सेवा ऐन पनि बनायौं, प्रहरी विद्येयक पनि बनायौं । कतिपय ऐन त कार्यान्वयनको चरणमा छन् । कतिपय विद्येयक पारित भैसके ।’

उनले छिट्टै प्रदेशको नाम र राजधानी टुँगो लगाउने पनि विश्वास दिलाए । उनले भने,‘यो विषयमा पनि हामी निरपेक्ष छैनौं । बहस नै नभएको होईन, बहस भैरहेको छ । यसको लागि प्रस्तावहरु दर्ता भैरहेका छन् । हामी राजपा नेपाल र समाजवादी पार्टी नेपालको तर्फबाट मधेश प्रदेश नाम प्रस्ताव गरेका छौं । तर, हामीसँगमात्रै दुई तिहाई छैन् ।’

उनले केन्द्रिय सरकारले सहजताका साथ प्रदेश सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने,‘नेपालको संविधान भनेको सह–अस्तित्वको संविधान हो । यसले कोअपरेटिभ फेडरलिज्मको कुरा गरेको छ । यही मर्म र भावनाअनुसार अघि बढ्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *