बीआरआईको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

Sharing is caring!

असोज २९, २०८० । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)’मा सहभागी हुन सोमबार चीन प्रस्थान गरेका छन् ।

मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुनेछ। सो कार्यक्रममा श्रेष्ठले “कि नोट स्पिच“ दिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए ।

वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर समेत हुन् । उपप्रधानमन्त्री श्रेष्ठ र वाङबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुनेछ। सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुने छन् । सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने बताइएको छ ।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो।

भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेललगायत सहभागि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *