दण्डहीनताले जन्माएको अराजकता

Sharing is caring!

भदौ १८, २०८० । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) आफू बसेको कुर्सीको गरिमा बिर्सेर दैनिक मैमत्त बनिरहेका छन् । महानगर प्रमुखको मर्यादा, सामाजिक पक्ष के हो भन्ने कुरा बालेन्द्रले सधंै जसो भुल्ने गरेका छन् । महानगर प्रमुखको कुर्सीमा पुगेपछि कानुनभन्दा आफू माथि छु भन्ने दम्भले उनी सामाजिक सञ्जालमा असामाजिक हर्कत गरिरहेका छन् ।

पछिल्लो समय शनिबार राति उनले पोस्ट गरेको स्टाटस महानगर प्रमुखको मर्यादा र आचरणसँग कतै मेल खाँदैन । त्यसो त उनका यसअघिका स्टाटस पनि ‘मैमत्त’ खालकै छन् ।

आजका लागि केही भएन
भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने
सिंहदरबारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ?

बालेनको यो पछिल्लो स्टाटसको सामाजिक सञ्जालमा तीव्र आलोचना मात्रै भइरहेको छैन, उनलाई कानुनको कठघरामा उभ्याउनुपर्छ भन्ने मत पनि बलियो गरेर उठिरहेको छ । कतिपयले दम्भले सीमा नाघेको भन्दै आलोचना गरिरहेका छन् । केहीले बालेनको स्वास्थ्यलाभसमेत गर्न भ्याएका छन् । यी सबै अभिव्यक्तिले के देखाउँछ भने बालेन आफ्नो ट्र्याकबाट पूरै बाहिर गएको देखाउँछ । सामाजिक सञ्जालमा लेखिने कुराले व्यक्तिको व्यक्तित्व मात्रै झल्कँदैन, उसको बानी व्यवहार र सोचको पनि सामाजिक इजलासले मापन गरिरहेको छ ।

शनिबार बालेनले दिएको अभिव्यक्तिले काठमाडौं महानगरपालिकाका मतदाताले एकपटक कस्तो व्यक्ति चुनिएछ भनेर पश्चाताप गर्ने अवस्था भने बनेको छ । नागरिकले चुनेर पठाएको एउटा प्रतिनिधिले आफू कुन मर्यादामा छु भन्ने भुल्दा मतदाताले आफैंलाई पश्चाताप गर्नुपर्ने अवस्थाको सिर्जना गरिदिएको छ । भलै उनको परिवारको समस्या होलान् त्यो आफ्नो ठाउँमा छ । तर, प्रहरीले सार्वजनिक बिदाको दिनमा गाडी गुड्दा निगरानी गर्दा सरकारमाथि चोरआंैला देखाएर चोर सरकार भनिरहँदा आफ्नै चारवटा आंैलाले उनलाई चोर भनिरहेको उनले भुले ।

जनताको करबाट बनेको प्रशासनिक कार्यालय सिंहदरबारमा आगो लगाइदिन्छु भन्नु चरम अराजक र आपराधिक मामिला हो । बालेनको यस्तो खालको धम्की पहिलोपटक होइन । उनको अराजक गतिविधि यसअघि पनि सामाजिक सञ्जालमा छरप्रस्ट भइनैसकेको छ ।

उनले यसअघि सामाजिक सञ्जालमा अदालतविरोधी अभिव्यक्ति पोस्ट गरेर आफूलाई विधिको शासन, मानवअधिकार र राज्यशक्तिको ज्ञान शून्य रहेको प्रमाणित गरेका छन् । उनी मुलुकको प्रचलित कानुन र संविधानको मर्ममाथि नै प्रहार हुने गरी अदालतविरुद्ध प्रस्तुत भएका थिए । उनले भनेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’ उनको यो अभिव्यक्ति विवादास्पद भारतीय फिल्म ‘आदिपुरुष’सँग सम्बन्धित थियो । उनले फिल्ममा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद रहेको भन्दै महानगरका हलमा प्रदर्शनमा रोक लगाएका थिए । त्यस्ता संवाद हटाउनुपर्ने उनको सर्त थियो ।

काठमाडौंमा ‘हिन्दी चलचित्र प्रदर्शनमा रोक नलगाउनू’ भन्ने उच्च अदालत पाटनको अन्तरिम आदेश भएसँगै हिन्दी चलचित्र चलेको थियो ।

बालेन विवादमा तानिएको अर्को प्रसंग हो, ‘सिंहदरबारमा फोहोर नउठाउने महानगरको निर्णय ।’ जनताकै हितका लागि काम गर्दा केन्द्र सरकारले आफूलाई पटकपटक असहयोग गरेको आरोप लगाउँदै गत २५ चैतमा बालेनले सामाजिक सञ्जालमार्फत मुख्य प्रशासनिक निकाय सिंहदरबारलगायतको फोहोर नउठाउने घोषणा गरेका थिए ।

सर्वोच्च अदालतले तीन दिनभित्र सबै फोहोर व्यवस्थापन गर्न आदेश जारी गरेपछि बालेन पछि हटेका थिए । आदेशपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौं । तर, सम्मानित अदालतका फैसला, आदेश र निर्देशन काठमाडौं महानगरले मात्रै होइन, संघीय सरकारलगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ ।’

फोहोरकै सन्दर्भमा बालेनले सिंहदरबार र राजधानी अन्य सार्न चेतावनी दिएका मात्रै थिएनन् नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्यक्ति पनि दिएका थिए । उनले २५ चैत २०७९ मा सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्नेहुन्छ ।’ साथै उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्यत्रै सार्न चेतावनी दिएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

त्यस्तै, बालेन आफू मात्रै सर्वेसर्वा हुँ भने झैं गरी पछिल्लो समय प्रस्तुत भइरहेका छन् । बजेट’दयगत उनको टिप्पणीले यही नै देखाउँछ । आगामी आवको बजेटमा सांसद विकास कोषलाई ब्युँत्याएपछि उनले भनेका थिए, ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेभलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ।’ उनको यो अभिव्यक्ति सत्तामा रहेका सांसदहरूमाथि लक्षित थियो । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *